ज्ञान ज्योतिमा गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता तालिम: १३५ विद्यार्थीले लिए वित्तीय ज्ञान

  • नमस्ते कर्णाली

  • १९, फाल्गुन २०८१
    बाँके ।कोहलपुर नगरपालिका वडा बम्बर १२ चप्परगौडीस्थित ज्ञान ज्योति मा.वि. मा गरिमा विकास बैंकको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। १३५ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त तालिममा वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचतको महत्त्व तथा असल र खराब ऋण व्यवस्थापनजस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गरिमा विकास बैंक कोहलपुरका क्षेत्रीय प्रबन्धक प्रकाश देवकोटा रहनुभएको थियो भने अध्यक्षता विद्यालयकी प्राध्यापक सुमित्रा न्यौपानेले गर्नुभएको हो। तालिमको सहजीकरण गरिमा विकास बैंक चप्परगौडीका शाखा प्रमुख बिष्णु पौडेल र ज्ञान ज्योति मा.वि. का सहायक प्राध्यापक बद्री पौडेलले गर्नुभएको थियो।

    तालिममा वित्तीय साक्षरता भनेको व्यक्तिले आफ्नो आर्थिक स्रोत साधनलाई उचित रूपमा परिचालन गर्न आवश्यक ज्ञान प्राप्त गर्नु हो। यो साक्षरताले व्यक्ति, परिवार तथा समाजलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छ। वित्तीय साक्षरता नहुनु नै व्यक्तिहरू आर्थिक समस्यामा पर्ने प्रमुख कारणमध्ये एक हो। तालिमका क्रममा विद्यार्थीहरूलाई बचतको महत्त्व, कर्जा व्यवस्थापन, लगानी रणनीति तथा दैनिक खर्च नियन्त्रण जस्ता विषयमा जानकारी दिइएको थियो।

    बचत भनेको व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाको आधारशिला हो। यो भविष्यमा आर्थिक संकटबाट जोगिन तथा आवश्यक परेमा लगानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्छ। तालिममा विद्यार्थीहरूलाई बचतका फाइदाहरू बारे जानकारी दिइएको थियो, जसमा निम्न बुँदाहरू समावेश थिए:
    आर्थिक सुरक्षा – आपत्कालीन अवस्थामा सहजै खर्च गर्न सकिने सुरक्षित पूँजी निर्माण गर्छ।
    व्यवसाय तथा लगानी – भविष्यमा व्यवसाय वा अन्य लगानीका लागि आर्थिक स्रोत उपलब्ध गराउँछ।
    ब्याज आम्दानी – बैंकमा बचत गर्दा नियमित रूपमा ब्याज प्राप्त गर्न सकिन्छ।
    असफलताको जोखिम न्यूनीकरण – अचानक आउने खर्चहरूका लागि मानसिक तनाव कम गर्न मद्दत गर्छ।
    ऋण व्यवस्थापन: असल ऋण र खराब ऋण

    ऋण लिने कुरा आर्थिक उन्नतिको अवसर हुनसक्छ तर यसको सही व्यवस्थापन आवश्यक हुन्छ। तालिममा विद्यार्थीहरूलाई ऋणको सही उपयोग तथा दुरुपयोग बारे जानकारी दिइयो।


    असल ऋण – व्यापार, शिक्षा, घर निर्माण, वा सम्पत्ति सिर्जना गर्न लिइने ऋण। यसले जीवनस्तर सुधार गर्न मद्दत गर्छ।

    खराब ऋण – विलासी जीवनशैली, अनावश्यक उपभोग वा फजुल खर्चका लागि लिइने ऋण, जसले आर्थिक संकट निम्त्याउन सक्छ।

    बैंक भनेको आर्थिक कारोबारको प्रमुख माध्यम हो। यो संस्थाले नगद तथा बहुमूल्य कागजातको सुरक्षा, पूँजी परिचालन, वित्तीय कारोबारको सहजता, तथा आर्थिक स्थिरताको संरक्षण गर्छ। तालिममा विद्यार्थीहरूलाई बैंकमा खाता खोल्ने प्रक्रिया, विभिन्न प्रकारका खाता तथा बैंकिङ सेवाहरू को बारेमा जानकारी दिइयो। साथै, सेयर बजार सम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरियो।

    वित्तीय साक्षरता तालिमको उद्देश्य भविष्यका कर्णधार विद्यार्थीहरूलाई सही वित्तीय निर्णय लिन सक्षम बनाउने थियो। आजको प्रतिस्पर्धी युगमा हरेक व्यक्तिले वित्तीय योजना बनाउन सक्नुपर्छ। यस्ता तालिमहरूबाट विद्यार्थीहरूले बचत गर्ने बानी बसाल्ने, सही ऋण व्यवस्थापन सिक्ने, तथा लगानीका अवसरहरू पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।

    सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान आफ्नो दैनिक जीवनमा उपयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालय प्रशासनले पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ। तालिमको समापनसँगै प्रशिक्षकहरूलाई विद्यालय प्रशासनद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।

  • १९ फाल्गुन २०८१, सोमबार २२:१५ प्रकाशित

  • Nabintech