तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सुरु, पहिलो खेलमा आयोजक विजयी

लुम्बिनी प्रदेश मुख्यमन्त्री द्वारा उद्घाटन


  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर–२, स्थित तेह्र विगाह खेलकुद मैदानमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ सुरु भएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँकेको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ भएको हो । गोल्डकपको शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताए । ‘खेलकुदले व्यक्तिको शरीर स्वस्थ त हुने नै भयो, त्यतिमात्र नभएर आन्तरिक तथा वाह्य खेलप्रेमीहरुलाई यो ठाउँसम्म ल्याएर यहाँको समग्र अवस्थाको पहिचान गराउँदै आर्थिक गतिविधिसमेत चलायमान गराउँछ । खेलाडीहरुले देशकै इज्जत राख्दै अनुशासित र मर्यादित भएर खेल खेल्नुहोस् । रेफ्रीले पनि निष्पक्ष र स्वतन्त्र भएर खेल खेलाउनुहोस् ।’ मुख्यमन्त्री आचार्यले भने । उनले गोल्डकप प्रतियोगिता कोहलपुरको मात्रै नभएर प्रदेशकै इज्जतसँग जोडिएको भन्दै प्रदेश सरकारका तर्फबाट के सहयोग गर्न सकिन्छ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले मुख्यमन्त्री गोल्डकप कोहलपुरको पहिचान भएको बताए । उनका अनुसार कोहलपुर अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण छ । स्थानीय सरकारले समेत खेलकुदलाई प्राथमिकता दिएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले खेल पर्यटन प्रवद्र्धन र कोहलपुरलाई खेलकुदको सहरका रुपमा चिनाउनको लागि गोल्डकपको आयोजना गरिएको बताए ।
    आयोजकको विजयी सुरुवात
    शनिबारदेखि सुरु भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को पहिलो दिन एउटा खेल सम्पन्न भएको छ । गोल्डकपको उद्घाटन पश्चात पहिलो खेल आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब र लुम्बिनी फुटबल एडेकेमीबीच भएको थियो ।
    पहिलो खेलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले गोल गरेका थिए । यस्तै,दोस्रो हाफको ६५औँ मिनेटमा आयोजक क्लबै क्षितिज थापाले गोल गरे । शाही र थापाको गोल प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले गोल्डकपमा पहिलो जित दर्ता गर्न सफल भएको हो । लुम्बिनी फुटबल एडेकेमी,घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद् पाँच हजार र ट्रफी प्राप्त गरेका छन् । एन्फ रेफ्री गोपी भुजेलका अनुसार गोल्डकपको दोस्रो दिन दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

  • १८ फाल्गुन २०८१, आईतवार ०८:५२ प्रकाशित

  • Nabintech