नेकपा एमालेको जरा अभियानले पार्टीलाई थप गति दिने: सुर्य ढकाल

  • नमस्ते कर्णाली

  • १६, फाल्गुन २०८१

    बाँके ।नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकालले जरा अभियान अन्तर्गत यही फागुन २४ गते सम्पन्न हुन लागेको विशेष अभिमुखीकरण कार्यक्रमले पार्टीको आन्तरिक जीवन थप व्यवस्थित हुने र पार्टीमा थप उत्साह सिर्जना गर्ने बताउनुभएको छ। उहाँका अनुसार नयाँ र पुरानाको समायोजनले पार्टीले गति लिनेछ।

    यो कार्यक्रम नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा तथा लुम्बिनी प्रदेश इन्चार्ज अर्यालको विशिष्ट उपस्थितिमा आयोजना गरिंदैछ। कार्यक्रममा २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका लूटबहादुर रावत ,रामदास थारु, कर्णबहादुर थापा, शारदा बिश्वकर्मा, किस्मत कुमार कक्षपति लगायत बाँकेमा बसाइँसराइ गरेका तथा अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारहरूलाई सहभागी गराइने छ।

    फागुन १६ गते सम्पन्न ८१ वटै वडाका कमिटी बैठकहरूले एमालेका उम्मेदवारहरूको विवरण संकलन गरी पालिका, क्षेत्रीय कमिटी र स्थानीय विभागमा पठाउने काम अघि बढाइरहेका छन्। जरा अभियान अन्तर्गत पुराना नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्ने, विभिन्न कारणले पार्टी छोडेकाहरूलाई पुनः फर्काउने, नयाँ सदस्यहरूलाई पार्टीमा जोड्ने, नयाँ नेतृत्व निर्माण गर्ने, सदस्यता शतप्रतिशत नवीकरण गर्ने, वडामा ३३% महिलाको सहभागिता सुनिश्चित गर्ने तथा हरेक वडामा १० जना युवालाई टोल कमिटी गठन गरी समुदायसँग संवाद गर्ने लक्ष्य लिइएको छ।

     

  • १६ फाल्गुन २०८१, शुक्रबार २१:१६ प्रकाशित

  • Nabintech