१६, फाल्गुन २०८१
बाजुरा । बाजुराको पूर्वोत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिमा बाघको आक्रमणमा परि ४५ भेडा मरेका छन्।
बिहीवार बिहान हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिका हिमाल बुढ्थापाका घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा भेडा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयाे।
प्रहरी निरीक्षक बोहराका अनुसार, खोरमा रहेका सबै ४५ वटा भेडा बाघको आक्रमणमा परि मरेको अवस्थामा भेटिएका छन्।
बाघको आक्रमणबाट बारम्बार भेडा मर्न थालेपछि स्थानिय भेडा पालक कृषक चिन्तित बनेका छन्। एक हप्ता अगाडि मात्र हिमाली गाउँपालिकाकै ५ नम्बर वडामा बाघको आक्रमणबाट २० भेडा मरेका थिए।
जिल्लामा बाघको आक्रमणबाट यस वर्ष मात्र ६३ भेडा र बाख्रा मरेका छन् भने २१ वटा घाइते भएका छन्।