१५, फाल्गुन २०८१
बाँके । हालै विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका चार जना प्रतिष्ठित व्यक्तित्वलाई नेपालगञ्जमा सम्मान गरिएको छ। विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा हालै मात्र विद्यावारिधि उपाधि हासिल गरेका डा. हरि प्रसाद तिमिल्सिना, जगत खत्री, कविन्द्र भट्टराई, र राजकुमार थारुलाई सम्मान गरिएको थियो। सो अवसरमा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. वेदराज केसी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।
समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. केसीले विद्यावारिधि हासिल गरेका सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै ज्ञानको नयाँ आयामलाई समाज परिवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकाल, प्राज्ञ सनत रेग्मी लगायत सम्मानित व्यक्तित्वहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
शैक्षिक, साहित्यिक, र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहजीकरण गीता अर्यालले गर्नुभएको थियो।