१४, फाल्गुन २०८१
दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका-१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएको बताउनुभयो । साथै, ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने उहाँको धारणा थियो ।
केन्द्रमा प्रत्येक महिनामा एउटा १० दिवसीय शिविर, पुराना साधक/साधिकाका लागि एकदिवसीय शिविर, र बालबालिकाका लागि छुट्टै एकदिवसीय शिविर सञ्चालन हुँदै आएको छ । आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
हालसम्म केन्द्रले ३३ वटा १० दिवसीय शिविर, एकदिवसीय शिविर, बाल शिविरहरू, तथा विभिन्न संघसंस्था र विद्यालयहरूमा लघु आनापान ध्यान कार्यक्रम सञ्चालन गरी एक हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ । आगामी वर्षहरूमा थप शिविर सञ्चालन गरी धेरैभन्दा धेरै मानिसलाई सहभागी गराउने केन्द्रको लक्ष्य रहेको छ ।
विश्वभर विपश्यना ध्यान शिविरहरू निःशुल्क सञ्चालन गरिन्छन् । सहभागी साधक/साधिकाहरूबाट कुनै शुल्क लिइँदैन । शिविर पूरा गरेका साधक/साधिकाहरूबाट प्राप्त स्वेच्छिक दानबाट केन्द्र सञ्चालन हुँदै आएको छ ।
दाङ विपश्यना केन्द्र धम्मपरागको स्थापना र सञ्चालनमा लुम्बिनी प्रदेश सरकारको योगदान रहेको छ । ध्यान केन्द्रको थप विकासका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन गराउन आग्रह गरिएको छ । केन्द्रकाे मुख्यमन्त्री सहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेश सभा सदस्य लाेका विश्वकर्मा, घाेराही उपमहानगरपालिका प्रमुख नरुलाल चाैधरी लगायतले अवलाेकन गर्नु भएको थियाे । यो केन्द्र सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा स्थापना भएको हो ।