हिमाली गाउँपालिका(४, बोर्ता गाउँस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नो ४६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको समन्वयमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्षले गर्नुभएको थियो भने हिमाली गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष भीमानन्द पाण्डे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य हिउकला भण्डारी, वडा सदस्य लालवीर भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमल भण्डारी, विद्यालयका प्रधानाध्यापक जयराम पाण्डे, तथा शिक्षक बीरबहादुर कार्कीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयको वार्षिकोत्सव अवसर पारेर विद्यालयलाई २,२०० वर्ग मिटर जग्गा दान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ। २०७८ सालमा मौसमी विपद्का कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि विद्यालयका संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। नयाँ स्थानमा विद्यालय पुनर्निर्माण गर्न आवश्यक जग्गा अभाव भएपछि स्थानीय कार्की परिवारले विद्यालयको भविष्यका लागि आफ्नो व्यक्तिगत जग्गा प्रदान गर्ने निर्णय गरेका थिए।
विद्यालयको पुनर्निर्माणका लागि रत्न कार्की, नन्दरुपा कार्की, आजबीर कार्की, नन्दे कार्की, शेरबहादुर कार्की, जयबहादुर कार्की, नरी कार्की, अंगराज कार्की, आर।एन। कार्की, मानबहादुर कार्की र प्रवजित कार्की लगायत कार्की परिवारका सदस्यहरूले जग्गा प्रदान गरेका थिए। विद्यालय व्यवस्थापन समितिले उनीहरूको योगदानलाई उच्च सम्मान गर्दै प्रशंसा पत्र तथा दोसल्ला ओढाइ सम्मान गरेको हो।
वार्षिकोत्सव कार्यक्रमलाई अझ उल्लासमय बनाउन विद्यार्थीहरूले जनचेतनामूलक नाटक, नृत्य तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय प्रशासनले स्थानीय समुदायको निरन्तर सहयोगले विद्यालयको गुणस्तर वृद्धि भइरहेको उल्लेख गर्दै आगामी दिनहरूमा थप भौतिक संरचना निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार शिक्षा नै समाजको विकासको प्रमुख आधार हो, त्यसैले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सबै पक्षको निरन्तर सहयोग आवश्यक छ। विद्यालयलाई जग्गा दान गर्ने व्यक्तिहरूको योगदानलाई स्मरणीय मान्दै यस्ता समाजसेवी कार्यहरूले भावी पुस्तालाई शिक्षामा लगानी गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।