१४, फाल्गुन २०८१
धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवल शम्शेर राणाले सुदूरपश्चिमेली जनताले धनगढीबाट गणतन्त्रविरोधी आन्दोलनको बिगुल फुकेको उद्घोष गरेका छन्। उनले आन्दोलनको अन्तिम नतिजा आगामी चैत महिनामा काठमाडौंमा देखिने दाबी गरे।
मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, “धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको निष्कर्ष चैतमा काठमाडौंमा देखिनेछ।”
राणाका अनुसार राप्रपाले फागुन महिनाभर सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली तथा सार्वजनिक सभा गर्ने तथा चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना बनाएको छ। उनले यो आन्दोलनलाई निर्णायक बनाउने दाबी गर्दै भने, “नेपाली जनता, सेना र प्रहरीलाई मार्ने-मराउने काम हामी गर्दैनौं। जनताको बलबाट नै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गरेर राजा सहितको प्रजातन्त्र र सनातन हिन्दू अधिराज्य पुनःस्थापना गर्नुपर्छ।”
महामन्त्री राणा आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका छन्। राप्रपाले गणतन्त्रको विरोधमा देशव्यापी अभियान चलाउने तयारी गरिरहेको उनको भनाइ छ।