नेपालगन्जमा नेपाली सेनाद्वारा तेस्रो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, ड्रिमल्याण्ड स्कुल च्याम्पियन

  • नमस्ते कर्णाली

  • १३, फाल्गुन २०८१
    बाँके ।नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गण द्वारा आयोजित ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामाग्री प्रदर्शनी २०८१’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा नेपालगन्जको ड्रिमल्याण्ड इंग्लिस मिडियम हाई स्कुल च्याम्पियन बनेको छ।
    बज्रदल गण राँझाको खेलमैदानमा फागुन ९ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार साँझ समापन गरिएको थियो। समापन समारोहमा विजेता विद्यालय ड्रिमल्याण्ड स्कुललाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो। प्रमुख अतिथि श्री नम्बर ४ बाहिनी अड्डा ईमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शमसेर राणा तथा बज्रदल गणका प्रमुख गणपति प्रमुख सेनानी रविन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।
    प्रतियोगितामा छात्र फुटबल, छात्रा भलिबल, छात्र कबड्डी र छात्रा कबड्डी गरी चार खेल विधामा प्रतिस्पर्धा भएको थियो।
    छात्र फुटबलतर्फ: नेपालगन्जको ड्रिमल्याण्ड इंग्लिस मिडियम हाई स्कुल च्याम्पियन छात्रा भलिबलतर्फ: कोहलपुरको नमुना विद्या सदन इंग्लिस मिडियम स्कुल विजेता,छात्र कबड्डीतर्फ: कोहलपुरकै तक्षशिला एकेडेमी प्रथम,छात्रा कबड्डीतर्फ: कोहलपुरकै बागेश्वरी एकेडेमी विजयी भएका थिए।
    प्रतियोगितामा बाँके र बर्दियाका ११ विद्यालय सहभागी थिए। बाँके जिल्लाबाट सात र बर्दिया जिल्लाबाट चार विद्यालयले सहभागिता जनाएका थिए।
    प्रतियोगिता समापनकै दिन नेपाली सेनाले सैनिक सामाग्री प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनीमा बाँके र बर्दियाका करिब १४०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रह्यो। सेनासँग इम्प्यानल्ड गरिएका २८ विद्यालयहरुमध्ये २० विद्यालयका विद्यार्थीहरूले सेनाको इतिहासदेखि हालसम्मको प्रविधि प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए।
    प्रदर्शनीमा नेपाली सेनासँग सम्बन्धित १२ स्टलहरू राखिएका थिए, जसमा सेनाको पोसाक, युद्ध सामग्री, उद्धार उपकरण, बम डिस्पोज सामाग्री, युद्धमा प्रयोग गरिने सैन्य वाहन तथा बाँके राष्ट्रिय निकुञ्ज सुरक्षासम्बन्धी सामग्रीहरू प्रदर्शित गरिएका थिए।
    बज्रदल गण प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, विद्यार्थीहरूलाई सेनाको कार्यशैली, इतिहास, प्रविधि, युद्ध रणनीति तथा उद्धार प्रक्रियाबारे जानकारी दिन यो प्रदर्शनी आयोजना गरिएको थियो।
    “विद्यार्थीहरूको नेपाली सेनाप्रतिको कौतुहलतालाई मेट्न, सेनाको जीवनशैली नजिकबाट बुझ्न, नेपाली सेनासँग सम्बन्धित सम्पूर्ण ज्ञान प्रदान गर्न तथा उनीहरूलाई भविष्यमा सेनाप्रति आकर्षित गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो,” सेनानी श्रेष्ठले बताउनुभयो।
    प्रदर्शनी अवलोकन गरेका विद्यार्थीहरूले नेपाली सेनाको अनुशासन, प्रशिक्षण, युद्ध रणनीति तथा उद्धार क्षमताको प्रत्यक्ष अनुभव लिएका थिए। सेनाले विद्यार्थीहरूलाई देशप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
    बज्रदल गणको जिम्मेवारी क्षेत्रभित्र पर्ने बाँके र बर्दिया जिल्लाका विद्यालयहरूसँग समन्वय गर्दै गणले २०७९ सालदेखि विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। नेपाली सेनाले विद्यार्थीहरूलाई शारीरिक, मानसिक तथा अनुशासनात्मक रूपमा सक्षम बनाउन यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
    यस प्रतियोगिता र प्रदर्शनीले विद्यार्थीहरूलाई नेपाली सेनाको योगदान, राष्ट्र सेवाको भावना र अनुशासनको महत्त्व बुझ्ने अवसर प्रदान गरेको छ।

  • १३ फाल्गुन २०८१, मंगलवार १०:१४ प्रकाशित

  • Nabintech