कोहलपुरमा फुटबलको महाकुम्भ : तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फागुन १७ देखि

  • नमस्ते कर्णाली

  • कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फुटबल प्रतियोगिता भव्य रूपमा आयोजना गरिने भएको छ। फागुन १७ देखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेलमैदानमा सञ्चालन हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
    प्रतियोगिताको आयोजना कोहलपुर रेसिङ्ग सहारा क्लबले गरेको हो। पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिता स्थानीय पर्यटन र खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराएको छ।

    खेल संयोजक कर्ण बस्नेतका अनुसार खेलाडी तथा अफिसियलहरूको लागि बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू साथै बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणको प्याकेज पनि तयार गरिएको छ। प्रतियोगिताको सफल सञ्चालनका लागि कोहलपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो।
    प्रतियोगितामा घाना र भारतसहित कुल आठ टोलीहरूको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा घानाको अफ्रिकन राष्ट्र फुटबल क्लब, भारतको साहारा फुटबल क्लब, प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश, र आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके रहेका छन्।


    प्रतियोगितामा खेलाडीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान प्राप्त टोलीलाई ८ लाख रुपैयाँ, दोस्रो स्थानलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ। म्यान अफ द टुर्नामेन्टलाई ५१ हजार रुपैयाँ दिइनेछ भने बेस्ट कोच, गोलकीपर, राइजिङ स्टार, डिफेन्डर, फर्वाडलाई जनही १० हजार रुपैयाँ दिइनेछ। हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
    प्रतियोगिताका लागि जर्सी सार्वजनिक गरिएको छ। जर्सी सार्वजनिक कार्यक्रममा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, एन्फाका केन्द्रीय सदस्य भोजराज शाही, र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीको उपस्थिति रहेको थियो।

    प्रतियोगिता सम्पन्न गर्न कूल ९१ लाख २६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक समिति संयोजक चेतकान्त भट्टराईका अनुसार आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न स्रोतहरू परिचालन गरिनेछ।
    पत्रकार सम्मेलनमा प्रेस संयोजक विष्णु वेल्लवासेले प्रतियोगिताले बाँकेको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आम सञ्चारकर्मीहरूलाई प्रतियोगिता सफल बनाउन आफ्ना कलमको माध्यमबाट सहयोग गर्न आग्रह गर्नुभयो।
    ुस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने नाराका साथ कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ सञ्चालन गरिँदैछ। आयोजक क्लब तथा स्थानीय प्रशासन प्रतियोगितालाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।

  • १२ फाल्गुन २०८१, सोमबार ०७:५५ प्रकाशित

  • Nabintech