बागेश्वरी क्याम्पसको ३३ औ बार्षिक उत्सव सम्पन्न: बागेश्वरी क्याम्पसलाई स्तरोन्नति गर्दै कोहलपुरलाई शैक्षिक हब बनाउनु पर्छ – उपकुलपति गौतम

  • नमस्ते कर्णाली

  • १०, फाल्गुन २०८१
    बाँके ।बाँकेको उदाउँदो शहर कोहलपुरमा पहिलो पटक उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले २०४८ सालमा स्थापना भएको बागेश्वरी बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव आज शुक्रवार भव्य समारोहका बीच मनाइएको छ। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो।

    समारोहलाई सम्बोधन गर्दै उपकुलपति गौतमले कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न बागेश्वरी क्याम्पसको स्तरोन्नति गर्नु अपरिहार्य रहेको बताउनुभयो। उहाँले विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूलाई दक्ष जनशक्ति उत्पादन गर्ने आफ्नो अथक प्रयास जारी रहेको उल्लेख गर्दै बागेश्वरी क्याम्पसलाई आशालाग्दो क्याम्पसको रुपमा चित्रण गर्नुभयो। साथै, क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि आफू सदैव साथ, समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयले स्थानिय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै क्याम्पसको श्रीवृद्धि गर्ने उल्लेख गर्नुभयो।

    विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार क्याम्पसका गतिविधि, परीक्षा तथा नतिजा समयमै सम्पन्न गर्न प्रयासरत रहेको जानकारी गराउँदै, विद्यार्थीहरूलाई परीक्षाका कारण अन्योलमा नपर्न आग्रह गर्नुभयो । साथै, बागेश्वरी क्याम्पसमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विकट जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने भएकाले क्याम्पसको शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार, प्राध्यापक तथा कर्मचारी व्यवस्थापनमा गम्भीर ध्यान दिइएको बताउनुभयो ।

    सभाध्यक्ष एवं क्याम्पस प्रमुख दान बहादुर हमालले क्याम्पसको समग्र गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
    कार्यक्रममा प्रदेश सांसद दुर्गा प्रसाद चौधरी, बसन्ती अधिकारी, नगर प्रमुख पूर्ण प्रसाद आचार्यलगायतले क्याम्पसको बृत्ति विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    त्यसैगरी, क्याम्पस स्थापनाकालका शैक्षिक व्यक्तित्व होम प्रकाश सुवेदी, महेन्द्र क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख लालमणि आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाले क्याम्पसको विकासका लागि सबै सरोकारवालासँग सहकार्यको अपिल गर


    ३३ औं वार्षिकोत्सवकै अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति गौतमले क्याम्पसको विज्ञान तथा प्रविधि भवनको समुद्घाटन समेत गर्नुभएको थियो।

  • १० फाल्गुन २०८१, शनिबार ०९:५७ प्रकाशित

  • Nabintech