भेरी अस्पतालको आईसियु पूर्ण क्षमतामा सञ्चालन गर्न एमालेको माग

  • नमस्ते कर्णाली

  • ९, फाल्गुन २०८१
    बाँके । पश्चिम क्षेत्रको प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालको आईसियु (आईसीयू) पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा एमालेले माग गरेको छ।

    एमाले बाँके निर्वाचन क्षेत्र नं. २ ले आईसीयूलाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउने भएको छ। हाल बिरामीको चाप ह्वात्तै बढे पनि १५ शैयाको आईसीयू १० शैयामै सीमित छ।

    “यसले गर्दा बिरामीहरूलाई अत्यन्तै कठिनाइ भइरहेको छ। भेरी अस्पताल पश्चिम क्षेत्रको आशा र भरोसाको केन्द्र भएकाले यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग हो,” एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नं. २ का इन्चार्ज पशुपतिदयाल मिश्रले भन्नुभयो। मिश्रका अनुसार आईसीयू पूर्ण क्षमतामा सञ्चालन नहुँदा बिरामीलाई गम्भीर समस्या परिरहेको छ। यसका कारणहरूबारे अस्पतालसँग स्पष्टीकरण माग गर्नुका साथै केन्द्रीय निकायसँग समस्या समाधानका लागि पहल गरिनेछ।

    आईसीयू सञ्चालनका लागि आवश्यक पहल गर्न पशुपतिदयाल मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चौधरी लगायतका सदस्य रहने छन्। यो समितिले आईसीयू पूर्ण क्षमतामा सञ्चालन गराउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्नेछ।

    भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसैबीच, स्वास्थ्य सुविधाको अभावले गर्दा धेरै बिरामीलाई असहज स्थिति सामना गर्नुपरेको छ। एमाले बाँके क्षेत्र नं. २ ले स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर दबाब दिने प्रतिबद्धता जनाएको छ।

     

  • ९ फाल्गुन २०८१, शुक्रबार १५:१२ प्रकाशित

  • Nabintech