शिखा एकेडेमीको तेस्रो बार्षिक उत्सव सम्पन्न ‌(फोटोफिचर)

गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता : नगर प्रमुख आचार्य


  • सरला सुवेदी

  • बाँके जिल्लाको कोहलपुर नगरपालिका–८, पिपीरीस्थित शिखा एकेडेमीले आफ्नो तेस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। २०७८ सालमा स्थापना भएको यस विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ।

    वार्षिक उत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले रुद्राक्षको विरुवामा पानी सिंचित गर्दै कार्यक्रमको उद्घाटन गरे। प्रमुख अतिथि आचार्यले सम्बोधन गर्दै भने, “गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो। शिक्षाले विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउँछ। कोहलपुरलाई शैक्षिक हबका रूपमा स्थापित गर्न विद्यालयहरूको महत्त्वपूर्ण भूमिका छ।” उनले शिक्षा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिइरहेको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे।नगर प्रमुख आचार्यले अभिभावकलाई सचेत रहन आग्रह गर्दै भने, “शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र होइन, बालबालिकाहरूको व्यक्तित्व विकास गर्ने साधन हो। व्यवहारिक शिक्षा दिन नसक्ने विद्यालयहरूले अबको भविष्यमा विद्यार्थी पाउनै मुस्किल हुनेछ।” उनले शिखा एकेडेमीले नयाँ सोच, राष्ट्रिय भावना, सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्ययुक्त शिक्षा प्रदान गरिरहेको भन्दै विद्यालयलाई आगामि दिनमा अझ राम्रो काएययोजना सहित अघि बढ्न अनुरोध गरे।

    विद्यालयका कार्यकारी निर्देशक डा. राजकुमार सुवेदीले विद्यालयले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने जानकारी गराउँदै विद्यार्थीहरूको रुचिअनुसार अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरिएको बताए। विद्यालयमा ब्याडमिन्टन, फुटबल, स्विमिङ, क्रिकेट, बास्केटबल, संगीत, नृत्य, र पब्लिक स्पिकिङ जस्ता गतिविधिमा विशेषज्ञ प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइरहेको उनले जानकारी गराए।


    डा. सुवेदीले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले गरिरहेका शैक्षिक गतिविधिहरू बार्व जानकारी गराउदै उपस्थित अतिथिहरुले विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरे।

    विद्यालयका प्रधानाध्यापक इन्जिनियर राजिव सुवेदीले पारम्परिक शिक्षण पद्धतिभन्दा नवीनतम विधिहरू अपनाउँदै व्यवहारिक ज्ञान प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको भाषा केन्द्रित रणनीति अवलम्बन गर्ने योजना रहेको जानकारी गराए।
    सुवेदीले वार्षिक उत्सवका अवसरमा विद्यालयले २०८५ सम्मका नवीनतम कार्ययोजना सार्वजनिक गरे। विद्यालयले विद्यार्थीहरूको मनोविज्ञानलाई बुझेर दण्डहिन शिक्षा प्रणाली अवलम्बन गरिरहेको छ। विद्यालयका प्रिन्सिपल राजिव सुवेदीका अनुसार विद्यार्थीहरूको पाठ्यक्रमको भार कम गर्दै एक दिनमा चार वटा मात्र विषय अध्यापन गराइनेछ, जसले उनीहरूलाई व्यवहारिक सीप सिक्न अवसर मिल्नेछ।

    कार्यक्रमका विशिष्ट अतिथि प्यान्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यालयले छोटो समयमै पश्चिम नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गर्दै भने, “विद्यालयको भौतिक पूर्वाधार र शिक्षण प्रणाली उच्चस्तरको छ। अभिभावकहरूले विद्यालयसँग समन्वय गरेर आफ्ना बालबालिकाको सिकाइलाई अझ प्रभावकारी बनाउन सक्नेछन्।”
    कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले पछिल्लो समय शिखा एकेडेमी गुणस्तरीय शिक्षा, जीवन उपयोगी सीप, संस्कार, र नैतिक शिक्षामा विशेष जोड दिँदै अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको बताइन्।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल अधिकारीले विद्यालयको शिक्षण प्रणालीबारे बोल्दै भने, “गुणस्तरीय शिक्षा अहिलेको प्रमुख आवश्यकता हो। शिक्षाले बालबालिकालाई सिर्जनशील, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउँछ। हाम्रो विद्यालय यसै दिशामा अगाडि बढिरहेको छ।”

    विद्यालयले डिजिटल प्रविधि, वातानुकूलित कक्षा कोठा, सीसीटीभी निगरानी, मल्टिमिडिया शिक्षण प्रणाली, र इन्टरनेट प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाएको छ। साथै, विद्यार्थीहरूलाई सिर्जनशील लेखन, सार्वजनिक भाषण, व्यक्तित्व विकास, तथा समाजसेवामा संलग्न गराउँदै आएको छ।


    कार्यक्रममा नगरका विभिन्न क्षेत्रका अगुवा, अभिभावक, विद्यार्थी, तथा विद्यालय परिवारका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
    कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नृत्य, गायन, खेलकुद, तथा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने, विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो।

    समारोहमा नगर शिक्षा प्रमुख रामबहादुर हमाल, वडाध्यक्ष लालबहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष दीपक भण्डारी, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

  • ८ फाल्गुन २०८१, बिहीबार ०८:५९ प्रकाशित

  • Nabintech