३, फाल्गुन २०८१
बाँके ।बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा एक जङ्गली भाले हात्ती मृत फेला परेको छ। स्थानीय प्राथमिक विद्यालय नजिक गहुँ खेतमा अन्दाजी ३० वर्षको भाले हात्ती मृत अवस्थामा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार हात्तीको शरीरमा साना फोका उठेका कारण स्वास्थ्य समस्या रहेको अनुमान गरिएको छ। साथै, हात्ती गेरुवा नदी क्षेत्रदेखि बबई चेपाङसम्म आवतजावत गर्ने भएकाले कतै चोट लागेर पनि स्वास्थ्य अवस्था बिग्रिएको हुन सक्ने बताइएको छ।
मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने निकुञ्जले जनाएको छ। हाल पोस्टमार्टम गरी हात्तीको अन्त्येष्टि गर्ने प्रक्रिया अघि बढाइएको छ।