३, फाल्गुन २०८१
बाँके। बाँकेको नेपालगञ्ज-३, एक्लैनि स्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो मुस्लिम धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त हुनुभएको छ। शनिबार सम्पन्न प्रथम बैठकले खानलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले मस्जिद तथा मदरसाका कार्यहरूको समीक्षा गर्दै आगामी योजना तय गरेको छ। संस्थाका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा सम्पन्न बैठकले, विगत केही वर्षदेखि नवीकरण नभएको संस्थालाई जिल्ला प्रशासन कार्यालयद्वारा गठित आर्थिक छानबिन समितिको काम छिटो सम्पन्न गराई नवीकरण गराउन प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने निर्णय गरेको छ।
साथै, पाँच महिनादेखि तलब नपाएका कर्मचारीहरूलाई १० दिनभित्रै तलब उपलब्ध गराउने निर्णय पनि गरिएको छ। संस्थाको बैंक खाता सञ्चालनका लागि अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली इद्रिसि, र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
बैठकले निर्माणाधीन जामा मस्जिदको कामलाई तीव्रता दिने निर्णय गरेको छ। कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण कार्य अघि बढाइने समितिले जनाएको छ। साथै, मस्जिदका धार्मिक विषयमा बोल्ने अधिकार मुफती जाफर रजालाई दिने निर्णय गरिएको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिनुभएको छ।
बैठकमा आउँदै गरेको पवित्र महिना रमजानको तयारीबारे पनि छलफल गरिएको थियो। बैठकको सञ्चालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गर्नुभएको थियो भने कार्यसमिति सदस्यहरू, वरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी, आर्थिक सल्लाहकार मोहशीन खानलगायतको उपस्थिति रहेको थियो।