२९, माघ २०८१
बाँके ।बैजनाथ-४ मा नौवस्ता खानेपानी उपभोक्ता समितिको साधारण सभा सम्पन्न, वडाका सबै घरमा खानेपानी पुर्याउने प्रतिबद्धता
बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा मङ्गलबार नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभा समितिका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको छ। कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष बालकुमारी परियार प्रमुख अतिथि रहनुभएको थियो।
साधारण सभामा समितिका अध्यक्ष राजकुमार ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म ६६५ घरधुरीले खानेपानी सुविधा प्राप्त गरिसकेको जानकारी गराउनुभयो। उहाँले स्वच्छ खानेपानी वितरण, पाइप विस्तार, पानी शुद्धिकरण, र मर्मत कार्यहरू सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी वर्ष थप २२ किलोमिटर पाइप विस्तार गरी सबै घरमा खानेपानी पुर्याउने लक्ष्य रहेको बताउनुभयो।
विशिष्ट अतिथि प्रेम सुवेदीले खानेपानी सेवाभित्र देखिएका समस्या समाधान गर्न उपभोक्ता, समिति, र स्थानीय सरकार सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समितिको योगदान सराहनीय रहेको भन्दै खानेपानी सेवामा आर्थिक पारदर्शिता अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो।
यस्तै, वडा नम्बर ४ का पूर्व अध्यक्ष काली बहादुर सिंहले समितिले स्थापना कालदेखि हालसम्म विभिन्न चुनौतीहरू सामना गर्दै करिब ७ सय घरधुरीमा खानेपानी पुर्याउन सफल भएको बताउनुभयो। उहाँले भविष्यमा खानेपानी सेवा अझ प्रभावकारी बनाउन समिति, उपभोक्ता, र सरकारबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले खानेपानी हरेक नागरिकको आधारभूत आवश्यकता भएकाले वडाका सबै घरमा यसलाई पुर्याउनेतर्फ गम्भीर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार, संघीय सरकार, तथा दातृ निकायहरूसँग सहकार्य गर्दै खानेपानी सेवाको पहुँच बढाउने आश्वासन दिनुभयो।
समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि निम्न योजनाहरू अघि सारेको छ:
-नयाँ पानी प्रशोधन प्लान्ट जडान
-पाइप विस्तार गरी सबै घरमा खानेपानी पुर्याउने
-खानेपानी परीक्षण प्रयोगशाला स्थापनाको योजना
-सौर्य ऊर्जाबाट पानी आपूर्ति प्रणाली सुधार
-डिजिटल बिलिङ र अनलाइन भुक्तानी प्रणालीको पूर्ण कार्यान्वयन
कार्यक्रममा खानेपानी सेवा प्रवाहमा भएका केही कमजोरीहरूबारे गम्भीर छलफल भएको थियो। उपस्थित उपभोक्ताहरूले खानेपानीको शुल्क समयमा नतिर्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले सर्वसाधारण उपभोक्ताले समयमा शुल्क बुझाइरहे पनि केही सम्पन्न व्यक्तिहरूले बक्यौता रकम नतिरेको भन्दै विरोध जनाए।
साधारण सभामा स्थानीय उपभोक्ता, जनप्रतिनिधि, युवा, समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समितिका सचिव राजमोहन चौधरीले गर्नुभएको थियो। उपस्थित व्यक्तिहरूले नयाँ नेतृत्व चयन गर्ने मागसमेत उठाउदै गर्दा बिबाद उत्पन्न भएको थियो।