नेकपा एमाले अदानचुली गाउँपालिका कमिटीको सातौं पूर्ण बैठक सम्पन्न

वडा केन्द्रित तीन महिने 'जरा अभियान' सञ्चालनको योजना पारित


  • नमस्ते कर्णाली

  • हुम्ला । नेकपा एमाले अदानचुली गाउँपालिका कमिटीको सातौं पूर्ण बैठक गाउँपालिका कमिटी अध्यक्ष क. बुध भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पार्टीको केन्द्रीय कमिटीको आठौं बैठकले गरेको निर्णय अनुसार, वडा केन्द्रित तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्ने योजना पारित गरेको छ।

    जिल्ला कमिटीको २०८१ माघ १४ गते बसेको पाँचौं बैठकको निर्णय अनुसार, अदानचुलीमा २०८१ माघ २५ गते गाउँकमिटी बैठक बसेर अभियान सञ्चालनको योजना बनाइएको थियो। सोही अनुसार, जिल्ला कमिटी अध्यक्ष क. ज्ञामी बुमीको विशेष आतिथ्यतामा, प्रदेश कमिटी सदस्य तथा अदानचुली इन्चार्ज क. धन्जे परियारको प्रमुख आतिथ्यमा, प्रदेश कमिटी सदस्य तथा ताजाकोट इन्चार्ज क. अदानकला महताराको विशेष आतिथ्यमा, अन्य जिल्ला सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, गाउँकमिटीका सदस्यहरू, तथा वडा अध्यक्ष र सचिवहरूको उपस्थितिमा बैठक सम्पन्न भयो।

    बैठकले निम्न मितिहरूमा वडा बैठक बसी, वडा केन्द्रित अभियानको कार्ययोजना बनाउने निर्णय गरेको छ जसमध्ये वडा नं १मा २०८१ माघ २९ गते वडा नं २मा माघ २७ गते,वडा नं ३मा माघ २८ गते,वडा नं ४मा फागुन ५ गते,वडा नं ५ मा फागुन ६ गते र वडा नं ६ मा फागुन ७ गते अभियान संचालन हुनेछ ।


    वडा केन्द्रित तीन महिने ‘जरा अभियान’ को उद्देश्य ‘मिसन ८४’ अन्तर्गत एमालेको वडा, पालिका, प्रदेश, र संघमा एकल बहुमत हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नु रहेको छ।

    ‘जरा अभियान’ को सन्दर्भमा, नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानको उद्देश्य पार्टीलाई तल्लो तहसम्म सुदृढ पार्दै जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो। अभियानका क्रममा पार्टी सदस्यता विस्तार, बाँकी रहेका स्थानीय अधिवेशन सम्पन्न गर्ने, कमिटी जीवनलाई सुदृढ पार्ने, विकास निर्माण तथा जनसरोकारका काममा पार्टीलाई परिचालन गर्ने, किसान, मजदुर, विद्यार्थी, भूमिहीन, सुकुमबासी, महिलालगायतका समस्यासँग जनसंगठनलाई जोड्ने लगायतका कार्यहरू गरिनेछन्। साथै, नेता कार्यकर्तामाझ प्रशिक्षण सञ्चालन गर्ने, पार्टी र नेताविरुद्धका साइबर हमलाको संगठित प्रतिवाद गर्ने, युवा नेतृत्व विकासका लागि आधार निर्माण गर्ने जस्ता गतिविधिहरू पनि समावेश गरिनेछन्।

    यस अभियानमार्फत पार्टीले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासा, सुझाव र आवश्यकताहरू सुन्ने र सम्बोधन गर्ने लक्ष्य राखेको छ। साथै, पार्टीप्रति फैलाइएका भ्रमहरू चिर्ने र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य पनि रहेको छ।

    अदानचुली गाउँपालिकामा सञ्चालन हुने यस अभियानले पार्टीलाई स्थानीय स्तरमा थप सशक्त बनाउँदै आगामी निर्वाचनहरूमा सफलता हासिल गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

  • २८ माघ २०८१, सोमबार २०:१० प्रकाशित

  • Nabintech