गोरखा युनाइटेड पब्लिक स्कुलको १२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न:गुणस्तरीय शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक – प्रो. प्रज्ञा घिमिरे

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    २६, माघ २०८१
    बाँके ।बाँकेको कोहलपुर–२ मा सञ्चालित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो १२औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय स्थापनाको २३औं वर्षको अवसर पारेर आयोजित यस विशेष कार्यक्रममा लर्ड बुद्ध कलेज अफ एसोसिएट्सकी प्राध्यापक प्रज्ञा घिमिरे प्रमुख अतिथि रहनुभएको थियो। विद्यालयका सञ्चालक केशरबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय बौद्धिक समुदाय तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रोफेसर प्रज्ञा घिमिरेले विद्यालयले कोहलपुर क्षेत्रलाई गुणस्तरीय र व्यवहारिक शिक्षाका माध्यमबाट देशभर चिनाउने कार्य गरिरहेकोमा प्रशंसा गर्नुभयो। उहाँले आधुनिक शिक्षाको आवश्यकता, सिर्जनशील सोचको विकास तथा प्रविधिमैत्री शिक्षण पद्धति अपनाउनुपर्नेमा जोड दिनुभयो।

    उहाँले भन्नुभयो, “आजको प्रतिस्पर्धात्मक युगमा प्रविधिसँग हातेमालो नगरी शिक्षालाई प्रभावकारी बनाउन सकिँदैन। सिर्जनशील शिक्षा, नैतिक शिक्षा, आधुनिक प्रविधि र जीवन उपयोगी सीपहरूसहितको शिक्षाले मात्र विद्यार्थीलाई आत्मनिर्भर बनाउन सक्छ।” साथै, विद्यालयले आगामी दिनहरूमा थप सुधार गर्दै विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो।

    विद्यालयका सञ्चालक केशरबहादुर आले मगरले २३ वर्षको यात्रा सहज नभए पनि विद्यालयले गुणस्तरीय तथा जीवनोपयोगी शिक्षामा निरन्तर सुधार गर्दै आएको बताउनुभयो। उहाँले भविष्यमा विद्यालयलाई अझ प्रविधिमैत्री बनाउने, नवीनतम शैक्षिक विधिहरू लागू गर्ने र विद्यार्थीहरूको बहुपक्षीय विकासलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिनुभयो।

     

    विशिष्ट अतिथि अभिभावक संघका अध्यक्ष अर्जुनजङ शाह ले बालबालिकाहरूलाई “काँचो माटो” जस्तो भएको उल्लेख गर्दै अभिभावकले उनीहरूलाई सही दिशा निर्देश गर्नुपर्ने बताउनुभयो। विद्यालयले भौतिक संरचना मात्र नभई, शैक्षिक स्तरको पनि उल्लेखनीय सुधार गर्दै आएकोमा उहाँले प्रशंसा गर्नुभयो।

    “बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा शिक्षक, विद्यालय प्रशासन र अभिभावकहरूको सहकार्य अत्यन्त जरुरी छ। घर र विद्यालयले समान रूपमा जिम्मेवारी बोध गरे मात्र विद्यार्थीहरूको समग्र विकास सम्भव हुन्छ,” अध्यक्ष शाहले भन्नुभयो।

    कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा विद्यार्थीहरूले मार्चपास, कविता, गीत, एरोबिक्स, योग, पिटी, ड्रिल, तेक्वान्दो तथा ‘जङ्क फुडको बेफाइदा’ सम्बन्धी सचेतनामूलक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले विभिन्न समुदायका कला, संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरे, जसले सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गर्यो।

    त्यस्तै, बालबालिकाहरूले बनाएका विज्ञान परियोजना तथा आविष्कारहरू प्रदर्शन गरिएको थियो, जसले विद्यार्थीहरूको वैज्ञानिक सोच र नवाचार प्रवृत्ति विकास भएको स्पष्ट पारेको थियो। अभिभावकहरूले आफ्ना छोराछोरीको कला, सिर्जनशीलता तथा आत्मविश्वास देख्दा मन्त्रमुग्ध भएका थिए।


    कार्यक्रममा विशेष रूपमा केही अभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, नर्सरी कक्षामा अध्ययनरत बालबालिकाहरूका हजुरबुबा-हजुरआमालाई फलफूल प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनका अनुसार, पारिवारिक सम्बन्धलाई सुदृढ गर्नका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

    विद्यालयका विभिन्न वक्ताहरूले गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावक दुवैको सहकार्य आवश्यक रहेको बताए। प्रविधि र व्यावसायिक सीपलाई जोड, व्यवहारिक शिक्षाको विकास, सिर्जनशील सोचको प्रवर्द्धन तथा विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक नीति तथा कार्यक्रमहरू लागू गरिनुपर्नेमा विशेष जोड दिइयो।

    विद्यालय व्यवस्थापनले आगामी दिनहरूमा प्रविधिमैत्री कक्षा, प्रयोगात्मक शिक्षाको विस्तार तथा शिक्षक अभिमुखीकरण मा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    कार्यक्रमका अन्त्यमा विद्यालयका सञ्चालक तथा शिक्षकहरूले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि नयाँ प्रविधि तथा शैक्षिक विधिहरू अपनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा अभिभावक, विद्यार्थी तथा अतिथिहरूले प्रशंसा व्यक्त गरेका थिए।

    गोरखा युनाइटेड पब्लिक स्कुलको १२औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको यस कार्यक्रमले विद्यालय, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। विद्यालयले लिएको नयाँ शैक्षिक रणनीति, प्रविधिमैत्री शिक्षामा गरिएको प्रतिबद्धता तथा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनले कोहलपुर क्षेत्रमै यस विद्यालयलाई गुणस्तरीय शिक्षाको पर्याय बनाउने विश्वास गरिएको छ।

  • २६ माघ २०८१, शनिबार १७:०२ प्रकाशित

  • Nabintech