२५, माघ २०८१
बाँके ।राप्तीसोनारी गाउँपालिका–९, ढकेरीस्थित बेङ्कटेश्वर गौशालाको प्राङ्गणदेखि १०० मिटर पूर्व खोलानिर गाईगोरु मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीले गाईगोरु जथाभावी फालिएको देखेपछि यो घटनाबारे चिन्ता व्यक्त गरेका छन्। गौशालाकै गाईगोरु मृत अवस्थामा भेटिनु व्यवस्थापन समितिको चरम लापरबाही भएको उनीहरूको आरोप छ।
स्थानीय समाजसेवीहरूले गाईगोरुको उचित व्यवस्थापनका लागि बारम्बार अनुरोध गरे पनि गौशाला व्यवस्थापन समिति र स्थानीय सरकार दुवै पक्ष मौन रहेको आरोप लगाइएको छ। गौमाताको संरक्षण गर्ने उद्देश्यले सञ्चालित गौशालामा नै यस्तो दुर्दशा हुनु दुःखद पक्ष भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
गाईगोरुको मृत्युपछि उचित रूपमा दाहसंस्कार गर्नुपर्नेमा खोलानिर छाड्नु अमानवीय कार्य भएको स्थानीयको भनाइ छ। उनीहरूले गौशाला व्यवस्थापन समितिलाई जवाफदेही बनाउने र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
गौशालामा रहेका गाईगोरुको उचित संरक्षण, खाद्य व्यवस्थापन र स्वास्थ्य सुरक्षामा बेवास्ता गरिएमा थप संकट आउने चेतावनी स्थानीय समाजसेवीहरूले दिएका छन्। उनीहरूले यस विषयमा सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।