२१, माघ २०८१
बाँके। बाँकेको नौबस्ता बाल सुधार गृहमा प्रारम्भिक बाल विकास केन्द्र काठमाण्डौको सहयोगमा विभिन्न स्वास्थ्य र आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। कानुनी विवादमा परेका बालकहरूको स्वास्थ्य, सरसफाइ, शिक्षा तथा पोषण सुधारका लागि संस्थाले सामग्री उपलब्ध गराएको हो।
बाल सुधार गृह प्रमुख श्याम बहादुर रानालाई ५४ प्रकारका मेडिकल र बिरामी कक्षका सामग्री, बाल विज्याईकर्ताहरूका लागि ११ प्रकारका ११६ थान डिग्निटी किट, १० प्रकारका सामग्रीसहित १ थान क्रियापुत्री बाकस, र १४ प्रकारका अन्य सामग्री हस्तान्तरण गरिएको छ।
यस अवसरमा प्रारम्भिक बाल विकास केन्द्रकी लेखा प्रमुख मञ्जु आचार्यले बाल सुधार गृहमा रहेका बालकहरूको व्यक्तिगत सरसफाइ, खानपिन तथा अन्य आवश्यकताहरू पूरा गर्न सहयोग गरिएको बताउनुभयो। साथै, सुधार गृहमा रहेका बालकहरूको समुचित हेरचाहका लागि राज्यका प्रयासहरू मात्रै पर्याप्त नहुने भएकाले अन्य संघसंस्थाहरूको सहकार्य जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो।
हाल सुधार गृहमा २० जिल्लाका गरि १११ जना बालकहरु रहेका छन् ।प्रारम्भिक बाल विकास केन्द्र काठमाण्डौबाट बाल सुधार गृहलाई शिक्षा, स्वास्थ्य, पोषण तथा खाद्यान्न क्षेत्रमा निरन्तर सहयोग प्राप्त भइरहेको छ।