१९, माघ २०८१
बाँके ।नेपालगन्ज उपमहानगरपालिकामा ९ हजार ३ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार उपमहानगरपालिकाका २३ वटा वडाका ७ हजार ४ सय ९८ जना विद्यालयमा अध्ययनरत र १ हजार ८ सय २१ जना विद्यालयबाहिर रहेका किशोरीलाई खोप दिने तयारी गरिएको छ।
जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। उक्त खोप अभियान अन्तर्गत ९९ वटा विद्यालय र २३ वटा स्वास्थ्य संस्था गरी १२३ वटा खोप केन्द्र सञ्चालन गरिनेछ।
यस अभियानलाई प्रभावकारी बनाउन शुक्रबार नेपालगन्ज उपमहानगरपालिकामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप प्रभावकारी भएकाले लक्षित उमेर समूहका सबै बालिकालाई खोप लगाउन अभिभावकहरूलाई आग्रह गर्नुभयो।
नगर प्रमुख विष्टले अभियानलाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरूको सहकार्य आवश्यक रहेको समेत बताउनुभएको छ।