१७, माघ १०८१
एजेन्सी । भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । उक्त घटनामा ६० जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझ मात्रै ज्यान गुमाउनेको संख्या जानकारी दिएका हुन् । बुधबार माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा भाडदौड मच्चिएको थियो । कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबै भन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् ।
पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मात्रै कुम्भमा आठ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् । उनले राज्य सरकारका तर्फ बाट मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घटना बारे छानबिन गर्न न्यायाधीश हर्ष कुमारको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको छ ।
विपक्षी दलका नेताहरूले भने दुर्घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । गत पुस २९ मा शुुरु भएको कुम्भमेलामा हाल सम्म २० करोड भन्दा बढी श्रद्धालुले स्नान गरिसकेको समाचारमा उल्लेख छ । ६ साता लामो मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ ।