१५, माघ २०८१
बाँके ।बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दन्त शिक्षा र उपचार सेवा सुरु गरेको छ। अस्पतालले श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएको थियो भने पुष २५ गतेदेखि दन्त शिक्षा संकायको अध्ययन/अध्यापन समेत सुरु गरेको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कलेज प्रशासनले काठमाण्डौं विश्वविद्यालयबाट स्वीकृति प्राप्त कार्यक्रमअन्तर्गत बि.डि.एस., बि.एम.एल.टी., र बि.एम.आई.टी. अध्ययन सुरु भइसकेको जानकारी दिएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार विएनका अनुसार, हाल बि.डि.एस. कार्यक्रमतर्फ १५ जना र बि.एम.एल.टी. तथा बि.एम.आई.टी. तर्फ ५/५ जना विद्यार्थीले भर्ना अवसर पाएका छन्। विश्वविद्यालयको प्रावधानअनुसार क्रमशः ४० र २०/२० जनासम्मको कोटा भए पनि प्रारम्भिक चरणमा आवश्यक पूर्वाधारको अभावका कारण २५ जना विद्यार्थीका लागि मात्र कोटा सुनिश्चित गरिएको छ।
अस्पतालका ९ वटा डिपार्टमेन्ट स्थापना गरी दन्त परिक्षण र उपचार सेवामा अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। प्रमुख सेवाहरूमा:मुख र अनुहारको शल्यक्रिया,बाँगो दाँत मिलाउने र गिजासम्बन्धी उपचार,बच्चाहरूका लागि विशेष दन्त सेवा,नक्कली आँखा, नाक, कान, गाला मिलाउने,दाँतको जरा र गिजासम्बन्धी सम्पूर्ण उपचारका साथै, अस्पतालले स्वास्थ्य शिविर र जनचेतना कार्यक्रममार्फत दन्त स्वास्थ्य सेवाको पहुँच समुदायस्तरमा विस्तार गर्ने योजना बनाएको छ।
नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर, २०५३ सालदेखि सञ्चालनमा रहँदै आएको हो। लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित यो कलेजले शिक्षण र उपचार सेवामा नयाँ आयाम थप्दै स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।