१०, माघ २०८१
बाँके ।भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर स्वदेश फर्किएका बर्दिया ठाकुरबाबा नगरपालिकाका खेलाडीको मेडल, पासपोर्ट, र झोला कोहलपुर बसपार्कमा चोरी भएको छ। नेपाललाई पहिलो पटक खो खो खेलमा विश्वस्तरमा चिनाउन सफल बर्दियाका खेलाडीहरू इतिहास रच्दै स्वदेश फर्किरहेका बेला यस्तो अप्रिय घटना घटेको हो।
जनवरी १३ देखि १८ सम्म भएको प्रतियोगितामा २३ देशका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपालका महिला र पुरुष दुवै टोलीले उपविजेता स्थान हासिल गर्दै ऐतिहासिक उपलब्धि प्राप्त गरेका थिए। नेपाली खेलाडीहरूको यो सफलता टिम गेममा नेपालका लागि पहिलो विश्वकप फाइनल थियो। तर, बर्दियाका खेलाडी बिकराल सिंह रतगैया महत्त्वपूर्ण व्यक्तिगत सामानहरू चोरी हुँदा उनीहरू स्तब्ध र दुःखी भएका छन्।
बिकराल सिंह रतगैयाले आफूसँग रहेको मेडल, झोला, र अन्य व्यक्तिगत सामान हराएको जानकारी दिनुभएको छ। “हामीले राष्ट्रका लागि उपविजेता बन्ने ऐतिहासिक अवसर प्राप्त गर्यौं, तर मेडल चोरी हुँदा मनमा अपार दुःख लागेको छ,” उहाँले भन्नुभयो।
यस्तै अर्का खेलाडि रोहित कुमार बर्माले पहिलो पटक खेल खेलेर फर्कंदा पाएको सम्मानले आफूलाई प्रेरणा मिलेको उल्लेख गर्दै चोरीको घटनाले खुशीलाई खल्लो बनाएको बताउनुभयो। कोहलपुर बसपार्कमा साथीहरूको झोलासहित सम्पूर्ण सामान हराएको उनले जानकारी दिनुभयो।
खेलाडीहरूको यो अप्रिय अनुभवले उनीहरूको मेहनत र राष्ट्रिय गर्वमाथि आँच पुगेको छ।
प्रशिक्षक छत्रबहादुर शाहिले पनि यस घटनाप्रति चिन्ता व्यक्त गर्दै खेलाडीको सुरक्षामा राज्यले थप ध्यान दिनुपर्ने बताउनुभयो।
प्रशिक्षक शाहिले खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ। यस्तो दुर्भाग्यपूर्ण घटनाबाट खेलाडीको मनोबलमा असर पर्न सक्ने भन्दै खेलप्रति सरकारको लगानी र प्रतिबद्धता बढाउनुपर्ने उहाँको भनाइ छ।
उपलब्धिपछि उत्साहित खेलाडीहरू स्वदेश फर्केका बेला कोहलपुरमा भएको यो चोरी घटनाले खेलकुदप्रति राज्यको बेवास्तालाई उजागर गरेको छ। यसले नजिकिँदै गरेको खेल गतिविधिमा राज्य र समाजले खेलाडीप्रति कस्तो व्यवहार गर्छ भन्ने प्रश्न खडा गरेको छ।