कोहलपुरमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नारा सहित तेस्रो विरेन्द्र शाही स्मृति खुल्ला क्लब स्तरीय २०–२० क्रिकेट प्रतियोगिता फागुनको १८ गतेदेखि सुरु हुने भएको छ । फागुन १८ देखि सुरु हुने सो क्रिकेट प्रतियोगितामा १६ वटा क्लबको सहभागिता रहने र फागुन २८ गते सम्म प्रतियोगिता संचालित रहने बताइएको छ । सोमबार कोहलपुरमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले क्रिकेट खेलको महत्व र यसको विकासमा आवश्यक कदमबारे महत्वपूर्ण विचार व्यक्त गरेका थिए । कोहलपुर क्षेत्रमा क्रिकेट खेलको त्यसमा पनि अझ महिला क्रिकेटको हकमा लेखबहादुर क्षेत्री जननी नै मानिन्छन् । क्षेत्रीले खेलकुदलाई केवल स्वास्थ्य सुधारका लागि मात्र नभई दक्ष खेलाडी उत्पादन गर्ने माध्यमका रूपमा लिनुपर्ने सुझाव दिए । उनले यस्ता प्रतियोगिताहरूले खेलाडीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गर्नुका साथै देशभरि खेलकुदको विकासमा सहयोग पुर्याउने विश्वास गरे । क्षेत्रीले भने, ‘खेलकुदको माध्यमबाट कोहलपुरलाई देशभरी खेलकुद हबका रूपमा चिनाउन सकिन्छ । कोहलपुरमा पछिल्ला दिनमा भइरहेको खेलकुद गतिविधिहरूले क्षेत्रीय खेलकुदको सम्भावना उजागर गरेको छ र यसलाई सबै क्षेत्रबाट सहयोग र हौसलाको प्रदान गरिनु पर्छ ।’ क्षेत्रीले विशेष रूपमा बाँकेको कोहलपुरबाट नेपालमा महिला क्रिकेटको विकास आफूसँगै सुरु भएको स्मरण गर्दै खेलकुदमा आफ्नो योगदान जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे । क्लबहरूका लागि निःशुल्क प्रशिक्षण दिन आफू तयार रहेको भन्दै क्षेत्रीले आगामी दिनमा क्रिकेटको जग अझ बलियो बनाउन व्यक्तिगत तथा संस्थागत प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि, कोहलपुर नगरपालिका खेलकुद विकास संयोजक चक्र चिमाला क्षेत्रीले, ‘सबै सँगको हातेमालो र सहकार्यबिना खेलकुदको दिगो विकास संभव छैन भन्दै नगरपालिकाले यस्ता गतिविधिहरूलाई थप बजेट विनियोजन गरेर सहजीकरण गर्नुपर्ने सुझाव दिए । यसैगरी, वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारीले नगरपालिकाले खेलकुदको जिम्मेवारी लिएर खेलाडीहरूको हौसला बढाउनुपर्ने धारणा
राखिन । यस्तै नेकपा एमालेकी नेत्री अनिता पौडेलले समग्र कोहलपुरको खेलकुद विकासको लागि आफुले भौतिक र आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाइन । यो प्रतियोगिता युनाइटेड भिजन क्रिकेट क्लबद्वारा आयोजना गरिएको छ । प्रतियोगितामा विजयताले नगद रु १ लाख ५० हजार, रनरअपले ७१ हजार, प्लेअफ दि म्याचले रु १०हजार, वेष्टब्याट्सम्यानले रु ५ हजारहजार, इमर्जिङ प्लेयरले ३ रु हजार र मोष्ट भ्यालुयबल प्लेयरले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताले प्रतिभावान खेलाडीलाई थप मञ्च प्रदान गर्ने र कोहलपुरको खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । सो प्रतियोगिता कोहलपुर स्थित प्रस्तावित अन्तराषर््िट्रय क्रिकेट मैदानमा हुने छ ।