लुम्बिनीमा पाँच महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन

भागबण्डामै अल्झिएका ५ महिना


  • नमस्ते कर्णाली

  • लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व समालेको पाँच महिना पूरा भएको छ । पाँच महिना बितिसक्दा पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत ७ साउनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ९ साउनमा शपथ तथा पदभार ग्रहण गरेका थिए । सोही दिन मन्त्रीहरू भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारू, सीता शर्मा, बादशाह कुर्मी, सरोज थापा, धनेन्द्र कार्की, प्रचण्ड विक्रम न्यौपाने समेतले शपथ लिएका थिए । कांग्रेसबाट पाँचजना मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले सुरुमा चारजनालाई मात्रै पठाएको थियो । ती चारजनामध्ये पछि विवादमा परेका बाँकेका बादशाह कुर्मीले राजीनामा दिएका थिए । कुर्मी बाँकेकी निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका उनले राजीनामा दिएपछि कांग्रेसको कोटाका दुईजना मन्त्री गत ७ कात्तिकमा थपिएका थिए । बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार मन्त्री भएका थिए । तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालय र कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सोही दिन बाँकेका आदेशकुमार अग्रवाल पनि मन्त्रीमा थपिएका थिए । जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको थियो । कांग्रेस र एमालेबाट ५–५ जना मन्त्री बन्ने र साना दलबाट दुईजनालाई मन्त्री बनाउने सहमति नयाँ सत्तासमीकरणमा सहभागी दलहरु बिच भएको थियो । सोही सहमति अनुसार कांग्रेस–एमालेबाट ५–५ जना मन्त्री बने । साना दलमध्ये जसपाबाट एकजना मन्त्री बने । तर, अन्य साना दलबाट थप एकजना मन्त्री बनाउने सहमति अझै कार्यान्वयन हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारलाई समर्थन गरेका दललाई मन्त्री थमाउने र आलोपालो गराएर भए पनि सर्मथन गर्ने दललाई भाग पु¥याउने बताइए पनि पाँच महिनासम्म एउटा मन्त्रालय मन्त्रीविहीन छ । युवा तथा खेलकुदमन्त्रीको नियुक्ति अझै हुन सकेको छैन । अब लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एकजना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो छ । प्रदेश सरकारका प्रवक्ता कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताए । मुख्यमन्त्री आचार्यले ४ भदौमा विश्वासको मत लिएका थिए । उनी एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका थिए । उनलाई ७० जना प्रदेश सभा सदस्यले विश्वासको मत प्रदान गरेका थिए ।

  • १२ पुष २०८१, शुक्रबार ०८:५० प्रकाशित

  • Nabintech