सबै सेवा ठप्प हुँदा विरामीलाई दैनिक सास्ती

मेडिकल कलेजमा निरन्तर आन्दोलन


  • नमस्ते कर्णाली

  • लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्घारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा कार्यरत कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन् । विभिन्न ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको छ । १५ दिनदेखि चलेको आन्दोलनले मेडिकल कलेजको आपतकालीन सेवाबाहेक सबै सेवा बन्द भएका छन् । ६ महिनाअघि ज्ञापनपत्र मार्फत आफ्ना माग प्रस्तुत गरेका कर्मचारीहरुका मागको कुनै पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन किमिटीका संयोजक रत्ना गिरीले बताइन् । २०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनका सभापति एवं वार्ता कमिटीका संयोजक रत्ना गिरीले हस्ताक्षर गरेर ७ बुंदे माग प्रस्तुत गरेका थिए । उनीहरुको मागमा तलव तथा भत्ता महँगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार तथा विविध विषयमा आफ्ना माग अघि सारेका छन् । कर्मचारीअरुले ओपिडि समेत बन्द गरेर निरन्तर आन्दोलन गरिरहे पश्चात मंगलबार जिल्ला प्रशासन कार्यालयमा श्रम कार्यालयका प्रतिनिधि समेतको उपस्थितिमा कलेज व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारी पक्ष बिच वार्ता र सम्वाद भएको थियो । वार्तामा कलेज व्यवस्थापन पक्षले कर्मचारीहरुले उठाएका मागहरु हाल पुरा गर्न नसकिने बताए पछि वार्ता निस्कर्षमा पुग्न सकेन । उता कर्मचारीहरु भने आफ्ना मागको सुनुवाई नभएकाले आन्दोलन निरन्तर हुने बताएका थिए । सोही अनुसार बुधबार पनि कर्मचारीहरुले दुबै अस्पतालमा आपतकालिन सेवाकक्ष बाहेक सबै काम ठप्प पारेका छन् । कर्मचारीहरुले निरन्तर आन्दोलन गरिरहदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको छैन । बरु संस्था घाटामा रहेकाले सुविधा बढाउन नसकिने बताउदै आएको छ । व्यवस्थापन पक्षले मंगलबार नै नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर कर्मचारीहरुले उठाएको मुख्य माग तलब वृद्धि गर्न नसकिने प्रष्ट पारेको थियो । कलेजका सिइओ सन्तोष कुमार बिएनले कर्मचारीहरुको तलब, भत्ता वृद्धि लगायतका मागहरुको बारेमा आगामी २०८२ सालको साउन देखि कम्पनीको आर्थिक अवस्थालाई हेरी दुबै पक्षको सहमतीमा वृद्धि गर्न सकिने बताए । उनले नेपाल सरकारले तोकेको र कम्पनीको आर्थिक क्षमता अनुसार नै कर्मचारीहरुलाई तलब लगायतका सुविधा दिइरहेको बताउँदै अस्पताल जस्तो संवेदनशील संस्थामा जनसेवालाई प्रतिकुल हुने गरी कामकाज ठप्प पार्नु गलत भएको र यस्तो नगर्न कर्मचारीलाई अनुरोध समेत पत्रकार सम्मेलनमा बताए । सिइओ बिएनले भने, ‘हामी र्कचारीहरुको तलब, भत्ता लगायत सेवा सुविधाको बारेमा अत्यन्तै सजक र संवेदनशील छौं । कर्मचारीहरु पनि स्वास्थ्य सेवा प्रदान गर्ने संस्थामा काम काज ठप्प पार्न हुँदैन, यो संवेदनशील संस्था हो भन्ने कुरा बुझिदिनु उपयुक्त हुन्छ ।’ त्यस्तै कलेजका एचआर प्रमुख श्याम कुमार शर्माले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अवरोध र विरोध गर्न उचित नरहेको र यस्तो कार्य मानवता विरोधी समेत रहेकाले यस्तो कार्यक्रम नगरी आफ्ना बन्दका कार्यक्रमहरु सबै फिर्ता लिन कर्मचारीहरुलाई आग्रह गरे । स्वास्थ्य सेवा प्रदान गर्ने कार्य बन्द हुँदा कोहलपुर र नेपालगञ्ज दुबै अस्पतालमा गरी दैनिक करिब ८ सय बिरामीहरु सेवाबाट बन्चित हुनु परिरहेको बताइन्छ । यता आन्दोलनरत कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन ्। आन्दोलनकारी दुई दिनअघि नेपालगन्जमा आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उक्त भेटमा स्वास्थ्य मन्त्री पौडेलले आफ्ना राख्दा संस्था नै बन्द नगर्न सुझाव दिदै आफूले पनि मागका विषयमा पहल गर्ने आश्वासन दिएका थिए ।

  • ११ पुष २०८१, बिहीबार ०९:२५ प्रकाशित

  • Nabintech