भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सहमती

  • नमस्ते कर्णाली

  • पश्चिम नेपालका २४ जिल्लाका बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । सो सेवा सुरु गर्नका लागि सहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पताल नेपालगन्ज बिच सोमवार नेपालगन्जमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता भएको छ । सहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी बिच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएर पत्र आदानप्रदान गरिएको हो । सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले सोही अनुसार भेरी अस्पतालमा पनि सुरु गर्न लागिएको जानकारी गराएका हुन । मन्त्री पौडेलले भने, ‘यो सेवा यहाँ सुरु गरिएपछि यस क्षेत्रका मृगौलाका बिरामी र अन्य बिरामीले पनि ठुलो राहात पाउने हामीले विश्वास लिएका छौं । छिटो भन्दा छिटो यसको तयारीमा लाग्न म सम्बन्धीत पक्षहरुलाई आग्रह पनि गर्दछु ।’ भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा संचालनका लागि धर्मभक्त प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उनले बताए । निर्देशक श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि भेरी अस्पतालमा जनशक्ती रहेको र अभाव भएका जनशक्तिहरु धर्मभक्त प्रत्यारोपण केन्द्रले काजमा व्यवस्थापन गरिसकेको जानकारी दिए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजानेक्रममा मानव अंग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको बताए । उनले अंग प्रत्यारोपण र डायलासिस सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरणका लागि छिट्टै पहल गरिने पनि जानकारी गराएका छन् ।

  • ९ पुष २०८१, मंगलवार ०८:३९ प्रकाशित

  • Nabintech