तलब वृद्धिको माग पुरा नगरेको भन्दै कलेजको ओपिडी सेवा समेत बन्द

मेडिकल कलेजद्वारा सेवा शुल्कमा भारी वृद्धि


  • नमस्ते कर्णाली

  • तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले शुक्रबारदेखि नेपालगन्ज र कोहलपुर मेडिकल कलेजको ओपिडी सेवा पूर्ण रुपमा बन्द गराएका छन् । पश्चिम नेपालकै सबैभन्दा ठुलो निजी लगानीमा सञ्चालिन मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर दुबै स्थानमा आन्दोलनरत कर्मचारीले ओपिडी सेवा समेत बन्द गराएपछि बिरामीहरुलाई निकै समस्या भएको छ । सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेजका कर्मचारीले बुधवार र बिहीबार आधा समय ओपिडी बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै ठाउँका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले जानकारी गराएकि छन् । अस्पताल व्यवस्थापन पक्षले कर्मचारीका जायज माग पूरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ति जारी गर्ने गरेको जनाउँदै नेपालगञ्ज र कोहलपुर दुबै ठाउँका ओपिडी सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताइन् । हाललाई आपतकालीन सेवा जारी राखिएको जनाउँदै गिरीले माग पूरा नगरिए थप अगाडि बढ्ने चेतावनी दिएकी छन् । नेपालगन्ज र कोहलपुर दुबै अस्पतालको ओपिडी सेवा बन्द गरिएकोले शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए । उता नेपालगन्ज मेडिकल कलेजले एकैपटक अधिकांश सेवाहरूमा शुल्क बढाएको छ । मेडिकल कलेजले आफूले प्रदान गर्दै आएका ९० प्रतिशत भन्दा बढी सेवाहरूमा थोरैमा २० प्रतिशतदेखि बढीमा एक सय प्रतिशतसम्म सेवा शुल्क बढाएको हो । तर, शुल्क बढाएपनि सेवाग्राहीहरूले थाहा पाउनेगरी भने जानकारी दिएको छैन । चालू आर्थिक वर्षबाट विभिन्न सेवामा शुल्क बढाए पनि उक्त शुल्क बारे सार्वजनिक सूचना नगरेकाले न शुल्क बारे सेवाग्राहीलाई थाहा छ न त कर्मचारीहरुलाई नै बढेको शुल्क बारे जनाकारी गराइएको छ । मेडिकल कलेजका प्रशासन प्रमुख, सूचना अधिकारी र उपनिर्देशकले हाल कर्मचारीहरुले गरेको आन्दोलनका कारण कार्यालयमा जान नपाएकोले शुल्क दर उपलब्ध गराउन नसकिएको बताएका छन् । मेडिकल कलेजले सेवाहरूको शुल्क सार्वजनिक नगरेपनि बढाइएको शुल्क अनुसार नै असुली गरिरहेको छ । ओपिडी शुल्क पहिले १ सय रूपैयाँ रहेकोमा बढाएर १ सय ५० रूपैयाँ बनाइएको छ । त्यस्तै इमरजेन्सी शुल्क १ सय रूपैयाँबाट बढाएर र्२ सय, सिबीसी ३ सयबाट बढाएर ६ सय, एलएफटी ८ सयबाट बढाएर १ हजार १ सय बनाइएको छ । पिसाब जाँच गरेको १ सय रूपैयाँबाट बढाएर १ सय ५० बनाइएको छ । जाँचदेखि अपरेशन सम्मको शुल्क बढाइएको कर्मचारीहरूले बताएका छन् । मेडिकल कलेजका उपनिर्देशक श्याम शर्माले नियमित प्रक्रिया अन्तर्गत नै शुल्क वृद्धि गरिएको बताए । उनले भने, ‘बजारको अवस्था, मूल्य वृद्धि, सामानको मूल्य वृद्धि लगायतलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको हो । बढेको मूल्य बिल काटेरै लिएको हो । लुकाएको पनि छैन ।’ उनले बढेको मूल्य पनि अन्य अस्पताल तथा स्वास्थ्य संस्थाको भन्दा बढी नभएको दाबी गरे । विभिन्न बहानामा सेवा शुल्क अत्यधिक वृद्धि गरेको मेडिकल कलेजले कलेजमा कार्यरत कर्मचारीको तलब भने वृद्धि गर्न नसकेको छैन । शुल्क वृद्धिको प्रत्यक्ष असर सेवाग्राहीहरूमा परेको छ । मेडिकल कलेजमा उपचार गराउन आएका अधिकांश सेवाग्राहीले शुल्क बढाउँदा त्यसको असर सेवाग्राहीमा पर्दछ भन्ने कुरालाई ध्यान नदिएकोमा दुखेसो गरे । जाजरकोटबाट उपचार गराउन मेडिकल कलेज आएका एक बिरामीका आफन्तले मेडिकल कलेजका दुबै अस्पतालले आफ्नो सेवा शुल्कमा अत्यधिक वृद्धि गरेर बिरामीको ढाड सेक्ने काम गर्न हुने तर कर्मचारीले तलब वृद्धिको माग गर्न नहुने भन्ने मान्यता गलत भएको बताए । उनले वृद्धि गरिएका विभिन्न शुल्कहरु घटाउन हस्तक्षेप गर्न स्थानीय प्रशासनसँग माग पनि गरे । मेडिकल कलेजका कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासन समक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन पक्ष र कर्मचारीका बीच पटक–पटक वार्ता वार्ता भए पनि निष्कर्ष ननिस्कँदा आन्दोलनलाई निरन्तरता दिनुपरेको कर्मचारीको भनाइ छ । व्यवस्थापनपक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले आन्दोलन बढ्दै गएको हो । यो आन्दोलन बढ्दै गएर शुक्रबारसम्म आइपुग्दा कलेजको ओपिडी सेवा बन्द गराउने स्थितिसम्म आइपुगेको
    छ । यसले नेपालगन्जको ठूलो स्वास्थ्यउपचार सेवा प्रदाय संस्थाको सेवा प्रभावित भएको छ । सेवाग्राहीहरू उपचारका लागि अन्यत्र भौतारिनुपर्ने स्थिति सृजना भएको छ । मेडिकल कलेज सञ्चालक र प्रशासनले आन्दोलनमा रहेका कर्मचारीहरूले काम भन्दा बढी राजनीति गर्ने गरेको आरोप लगाउँछ । उनीहरुको भनाइ अनुसार मेडिकल कलेजमा हाल ५० जना भन्दा बढी कर्मचारी ‘‘हाटा तबली” रहेका छन् । यस्तो प्रवृत्तिले पनि मेडिकल कलेजलाई आर्थिक भारमा पारेको छ । नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्मा कलेजको आर्थिक अवस्था खराब रहेको जानकारी गराउँदा गराउँदै पनि कर्मचारीहरू तलब वृद्धिको माग राखेर आन्दोलन उत्रिनु दुःखद भएको बताउँछन् । उनले पटक पटक श्रम कार्यालय, श्रम विभाग लगायतका निकायमा गएर यस विषयमा छलफल भएपनि कर्मचारीहरूले आफ्नो अड्डि नछोडेको बताए । तत्काल आन्दोलनकारी पक्षसँग वार्ता भई टुंगोमा पुगिने सम्भावना नरहेको पनि उनले जानकारी गराए ।

  • ६ पुष २०८१, शनिबार ११:५३ प्रकाशित

  • Nabintech