शवदाह गृह निर्माणको काम रोक्न परेको रिटमा भएन अन्तरिम आदेश

  • नमस्ते कर्णाली

  • कोहलपुर शवदाह गृह निर्माण कार्य रोक्न माग गर्दै परेको रिटमाथि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । अदालतको यो आदेशसँगै कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको कामले निरन्तरता पाउने भएको कोहलपुर नगरपालिकाका कानूनी सल्लाहाकार कर्ण केसीले जानकारी दिए । गएको मंसिर २४ गते कोहलपुरका स्थानीय भुमबहादुर भण्डारीले सार्वजनिक सरोकारवाको विषय भन्दै कोहलपुर शवदाह गृह निर्माण तत्काल रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । बुधबार दुवै पक्षबीच भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । अदालतको यो आदेशपछि कानूनी हिसावले निर्माणको काममा अव कुनै अवरोध नहुने सल्लाहकार केसीले बताए । गत असोज १९ गते शिलान्यास गरिएको अत्याधुनिक प्रविधियुक्त शवदाह गृह तीव्र रूपमा निर्माण भइरहेको उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले जानकारी गराएका छन् । कुल रु १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण कार्य भइरहेको संयोजक अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान गरिएको संयोजक अधिकारीले जानकारी दिए । अधिकारीले भने, ‘कोहलपुरको अत्यावश्यक संरचना निर्माण भइरहेको छ । निर्माणको ८० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौँ । आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।’ शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकहरूबाट राम्रो सहयोग पाइएको अधिकारीकोे भनाइ छ । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा राखेको अधिकारीले सुनाए । कोहलपुर नगरपालिका–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले लामो समयको प्रतीक्षापछि कोहरपुरबासीको सपना पूरा हुने चरणमा पुगेको बताए । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारी स्थित अगैयाघाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई पर्दै आएको छ ।

  • ५ पुष २०८१, शुक्रबार ०८:२९ प्रकाशित

  • Nabintech