बाँकेमा प्रहरीले गत मंसीर महिनामा मात्रै लागुऔषध ओसारपसार विरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसार कर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामद तर्फ रु. ९ लाख ३३ हजार ७ सय ६० बराबरको अवैध सामग्री समेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मंसीरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई ७ वर्ष २ महिना २० दिन कैद र रु. ८ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने पर्खाइमा रहेका ३८ मुद्दालाई फछर्यौट गरिएको जानकारी गराएको छ । ठाडो उजुरी तर्फका ४ सय २८ मुद्दामा ४ सय १६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फछर्यौट प्रक्रियामा छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु. ४६ हजार जरिवाना गराइएको छ । जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित ६ वटा मुद्दा दर्ता हुँदा ६ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने घरेलु हिंसा सम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फछर्यौट गरिएको छ । १४ उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदन परेकोमा ६ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । ट्राफिक प्रहरीको कारबाहीतर्फ मंसीरमा मात्रै २ हजार ८ सय ८६ सवारी साधनलाई कारबाही गर्दै रु. २४ लाख ७१ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंसीर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको थियो ।