सुर्खेत। कर्णाली प्रदेशमा यस वर्ष धानको उत्पादन घटेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत वर्षभन्दा यस वर्ष १ हजार १७४ मेट्रिक टनले धानको उत्पादनमा कमी आएको हो । मन्त्रालय श्रोतका अनुसार प्रदेशभर यस वर्ष १ लाख २३ हजार ७९५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेशको ३९ हजार ७६३ हेक्टर जमिनमा धान खेती भएको थियो । कर्णाली प्रदेशभरी गत वर्ष १ लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सुर्खेतमा सबैभन्दा बढी ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसपछि दैलेखमा २५ हजार १२० र सल्यानमा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भयो । विवरण अनुसार प्रदेशका हिमाली जिल्ला डोल्पा र हुम्लामा धान उत्पादकत्व निकै कम छ । डोल्पामा १९९ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ३५० मेट्रिक टन धान उत्पादन भएको छ । ५८५ हेक्टर क्षेत्रफलमा खेती भएको मुगुमा ९७५ मेट्रिक टन उत्पादन भएको छ । यस्तै हुम्लामा १ हजार ३६, जुम्लामा ६ हजार ३९५, कालीकोटमा ५ हजार पाँच सय, रुकुमपश्चिममा ५ हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ । यसै गरी सल्यानमा २३ हजार ६३० र जाजरकोटमा आठ हजार ७९५ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उत्पादन घट्नुको मुख्य कारण आवश्यक जनशक्ति विदेश पलायन हुनु हो । कर्णालीका अधिकांश युवा रोजगारीको सिलसिलामा कालापहाडदेखि विभिन्न मुलुकमा पुगेका छन् । अर्को कारणमा बरु चामल किनेर खाउँला भन्ने प्रवृत्ति हाबी भएपछि खेती गर्ने किसानको संख्या कम हुँदै गएको उनले बताए । थापाले भने, ‘अहिले धाने जिउलाहरू बाँझो छन् । अर्को समयमा पानी नपर्नु । अझै पनि परम्परागत धान खेती गर्नुदेखि रोगको प्रकोप रोक्न नसक्दा उत्पादनमा ह्रास आएको देखिन्छ ।’ प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी बढाइरहँदा उत्पादकत्व घट्नुका साथै कर्णाली खाद्यमा परनिर्भर हुँदै गएको छ । मन्त्रालयका अनुसार उन्नत बिउमा समेत प्रदेश सरकारले अनुदान दिने गरेको छ । तथ्याङ्कलाई केलाउने हो भने कर्णालीमा उत्पादन भएको धानको चामलले कर्णालीका सबैजसो नागरिकलाई ६ महिना पनि खान पुग्दैन । कर्णालीमा कुल २ लाख ९९ हजार ३ सय ३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । २ लाख १६ हजार ८ सय ८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । त्यसमा पनि ४५ हजार ४ सय ६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती हुन्छ । तथ्याङ्क अनुसार डोल्पामा २ सय ७६, मुगुमा ४ हजार ४ सय २०, हुम्ला ६ सय १०, जुम्लामा र्२ हजार ९ सय, कालीकोटमा ३ हजार ८१, रुकुमपश्चिममा ३ हजार ४८, सल्यानमा ७ हजार ७८, जाजरकोटमा ३ हजार ६३, दैलेखमा ८ हजार ३ सय १३ र सुर्खेतमा १२ हजार ६ सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यो खेती हुने सबै जमिनमा अहिले धान खेती भइरहेको छैन । सहरी क्षेत्रमा धान खेती हुने जमिनमा बस्ती बसिरहेको छ भने दुर्गम क्षेत्रमा सिँचाइ अभाव, किसानले धान खेती लगाउन छाड्दै जानुले धान खेतीको विस्तार हुन नसकिरहेको र अर्कातिर उत्पादन घट्दै गएको कृषि अधिकृत थापाले बताए । कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुग्छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाइ हुने क्षेत्रमा पर्छ । समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा छ ।