कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन । जिल्लाको पलाँता गाउँपालिका–१ खाडा बस्ती प्रायः पिउने पानीको अभाव भइरहने क्षेत्र हो । यहाँ पानीका लागि भनेर ट्याङकी बने पनि ट्याङकी भित्र पानी हुँदैन । यहाँको बस्तीका नागरिकलाई पिउने पानीको अभाव सधैं हुने हुँदा सरकार र गैरसरकारी सँस्थाको लगानीमा संरचना निर्माण भए पनि पानी आपूर्ति हुन सकेको छैन । पानीको स्रोत नहेरी बनाइएका संरचनाले नागरिकको आबश्यक्ता पूर्ति नहुने सरकारको भनाइ छ । पलाँता–१ खाडामा पानीको स्रोत छैन । धेरै टाढाबाट पानी ल्याउनु पर्ने भएकाले बनेका संरचनाको संरक्षण गर्नु यहाँको पहिलो काम
हो । तर उपभोक्क्ताले समेत पानीको संरक्षण नगर्दा अभाव कायमै छ । पालाँता गाउँपालिका निर्वतमान अध्यक्ष लक्ष्मणबहादुर बमले पानीको अभाव एउटा स्रोत नभएर हो भने अर्कोतर्फ संरक्षण गर्ने बानी नभएकाले अभाव सधै भइरहेको बताए । अध्यक्ष बमले नागरिकमा पनि आफ्नो संरचनाको सुरक्षा गर्ने बानीको बिकास हुनु पर्ने बताउँछन् । पलाँताका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव सधै भइरहने गरेको छ । पानी अभावका कारणले सरसफाइमा समस्या छ । यहाँको समस्या समाधानका लागि पूर्व मन्त्री खड्कबहादुर बिश्वक्रर्माले धेरै प्रयास गरेका थिए । त्यो प्रयास पनि असफल भएको छ । तत्कालीन गाउँपालिका अध्यक्ष बमले पलाँता निर्माण कार्यदल समेत गठन गरेर पानी आपूर्तिका लागि परिचालन गरेका थिए । पछिल्लो समय कालीकोटमा पानीका स्रोत कम हुँदै जान थालेका छन् । गाउँमा हुने डोजरे विकासले पनि पानीका मुहान छिर्न थालेपछि पलाँता मात्र होइन, राम्रो पानीको व्यवस्थापन भएका स्थानीय तहमा पनि पिउने पानीको समस्या हुँदै आइरहेको छ । सदरमुकाम मान्ममा समेत पिउने पानीको अभाव भइरहेको स्थानीयको भनाइ छ । बजार क्षेत्र विस्तार हुँदै जाँदा पानीको अभाव बढ्दै गएको हो । खाँडाचक्र नगपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले पानी आपूर्तिलाई सहज बनाउन गरिएका प्रयास असफल हुँदै आएको बताए । उनले जलस्रोतमा धनी भएको देशमा पनि नागरिकले पानीको अभाव खेप्नुपर्दा आफैँलाई अप्ठ्यारो लाग्ने गरेको बताए ।