हुम्ला । कुनै समय निक्कै महंगोमा खरिद गरिने खाना पकाउने ग्यासको मूल्य हाल केही कम भएको छ । पैदल मार्गमा सुर्खेतबाट खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म ग्यास ढुवानी भएर आउन थालेपछि ग्यासको मूल्य कम भएको हो । सिमकोट बजारकी उपभोक्ता क्याम्मा लामाले एक महिना यता ग्यासको मूल्य दुई पटक घटेको बताउँदै बजारमा उपभोक्तालाई सहज भएको बताइन् । मूल्य घट्दै गएपछि ग्यासको प्रयोग गर्ने संख्यामा बृद्धि भइरहेको बताउँदै उनले पनि दुई महिनायताबाट ग्यासको प्रयोग गर्न थालेको बताइन् । ग्यास सस्तो भएपनि सिमकोट बजारमा ग्यास प्रयोग नगर्ने घरधुरीहरु कमै भएको बताउँदै उनले सबैको ग्यासमा पहुँच पुग्न थालेको बताइन् । अझ यो ग्यासको मूल्य सिमकोटबाट दक्षिणतर्फका गाउँपालिकाका कम हुने गरेको छ । ग्यास बिक्री गर्दै आएको टि सप्लायर्सका सञ्चालक तीर्थ बुढाले एक वर्षयता चौथो पटक ग्यासको मूल्य घटेको बताए । हाल बजारमा नयाँ शिलिण्डर सहित ग्यासको मूल्य चार हजार आठ सय रुपैयाँ पर्ने गरेको छ । केही समय अगाडि सम्म यसरी नयाँ ग्यास सहितको शिलिण्डरको मूल्य पाँच हजार तीन सय रुपैयाँ पर्ने गथ्र्यो । गतवर्ष यो अवधिमा यसरी नयाँ ग्यासको सिलिण्डर किन्दा मूल्य प्रति सिलिण्डर छ हजार पाँच सय रुपैयाँ पर्ने गरेको थियो । त्यसैगरी ग्यास भरेको प्रति शिलिण्डरको मूल्य दुई हजार आठ सय रुपैयाँ पर्ने गर्छ । जब कि केही दिन अगाडि सम्म यसरी ग्यास भरेको सिलिण्डरको मूल्य तीन हजार दुई सय रुपैयाँ पर्दथ्यो । गतवर्ष यो अवधिमा यसरी ग्यास भरेको प्रति सिलिण्डरको मूल्य तीन हजार आठ सय रुपैयाँ पर्दथ्यो । हुम्ला जिल्लामा पहिलो पटक मुगु जिल्लाको गमगडी बजारबाट खच्चडमा ढुवानी गरेर ल्याउँदा ग्यासको मूल्य प्रति सिलिण्डर चौध हजारसम्म पर्ने गरेको थियो ।