बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न लागिएको भन्दै नेपालगञ्जवासी केहीले विरोध जनाएका छन् । सोमबार नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षकै नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । उद्योग वाणिज्य संघलाई अगाडि देखाएर नेपालगञ्जका राजनीतिक दलहरु तथा आफूलाई समाजसेवी बताउनेहरु नै यातायात कार्यालय कोहलपुर स्थानान्तर हुने कार्यको विरोधमा रहेको देखिन्छ । वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालयहरु संघिय संरचाना बनेपश्चात केही सुर्खेत र केही बुटवल स्थानान्तरण भैसकेको अवस्थामा बाँकी रहेका कार्यालयहरु अब अनेत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गरेको बताउँछन् । त्यसैका लागि आफूहरुले नेपालगञ्जवासीको भावनाको कदर गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी गराए । रानाभाटले तर्क गरे, ‘नेपालगन्ज रित्ताउने र रित्तिने सिलसिला रोक्न चिन्ता जाहेर गर्दै सङ्घले ज्ञापनपत्र बुझाएको छ, आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरिनेछ ।’ हाल देश बाहिर रहेका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मंगलबार नै आफ्नो प्रतिक्रिया जनाएका छन् । आचार्यले भने,–‘नेपालगन्जको यातायात कार्यालय कोहलपुर सारिदै छैन् । बरु नेपालगन्जबाट सेवा लिदै आइरहेका कोहलपुर, बैजनाथ राप्तिसोनारी लगायतका नागरिकहरुको सेवाको लागि कोहलपुरमा एउटा युनिट सुचारु गर्न खोजिएको मात्रै हो । नेपालगन्जबासिले १६ किलोमिटर टाढा सेवा प्राप्त गर्न जानु पर्ने छैन ढुक्क हुनुहोस ।’ नगर प्रमुख आचार्यले नेपालगञ्जवासीहरुलाई भनेका छन्,–‘समय परिवर्तनशिल छ, जनताका आवश्यकता असिमित छन् । जनतालाई सरल र सहज सेवा प्रवाह आजको बैज्ञानिक आवश्यकता हो । यो तथ्य बुझ्नु पर्छ र बुझाउनुपर्छ । समयको गति अनुसार आफू रुपान्तरित हुनु पर्छ त्यो रुपान्तरणको पथमा नेपालगञ्ज जाओस् कामना गर्दछु ।’ नगर प्रमुख आचार्यले आफ्नो प्रतिक्रियामा भनेका छन्, –‘बाँकेको नेपालगञ्ज किन कम्जोर हुँदै गैरहेको छ ? के नेपालगञ्जको कम्जोरी र रुग्नतामा बाँकेका अन्य पालिकाहरुले आफुलाइ बलशाली र भाग्यशाली मान्ने अवस्था हो ? यो हुँदै हैन्, हुनुपनि हुँदैन, किन भने नेपालगन्ज एउटा ऐतिहासिक शहर हो । यसको आफ्नै गरिमा र महत्व छ, रहिरहनेछ । तर नेपालगञ्जबासी केही आदरणीय महानुभावहरुमा कही कतै अन्य पालिकाको उन्नयनमा बेलाबेला इश्र्याभाव देखिन्छ । यो हामी सबै बाँके वासीका लागि दुर्भाग्यपूर्ण छ । यही नियती दोहोरिँदै गए दुर्भाग्य भै हुनेछ । खासमा अहिलेको हाम्रो नेपाली समाजकै मुख्य समस्या भनेकै कुनैपनि विषयवस्तुमा गहिरो अध्यन नगर्ने÷गर्न नचाहने अझै भनौं सतही अध्यनबाट तत्काल धारणा बनाउने र सामाजिक संजालबाट हतारमा सार्वजनिक गर्ने । समाजलाई थप अन्यौल र द्वन्द तर्फ लैजाने । यो हाम्रो अहिलेको अफापको नियती हो र यो नियतीले हामी सबैलाई पोलि राखेको छ यसको निरंतरता कहिले सम्म हुन्छ ? अहिले कोहलपुरमा मालपोत, नापी, इलाका प्रशासन आदि कार्यालयले सेवा सुचारु गरिसके पछि अब यातायातको ट्राइल सेन्टर भएकै ठाउबाट बाकी सेवा लिन पाउनु कोहलपुर बासिको अधिकार नै हो । बरु यो कोहलपुर, बैजनाथ र राप्तिसोनारिका नागरिकहरुको अधिकार स्थापित गरिदिने कुरामा वकालत गरिदिन नेपालगन्ज वासीलाई नगर प्रमुख आचार्यले अनुरोध समेत गरेका छन् । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले भने, – ‘ कोहलपुरबाटै गातायात सम्बन्धी सेवा लिन पाउनु हाम्रो लागि खुसीको कुरा । कोहलपुरमा यातायातको कार्यालय नै आउन लागेको होइन । सेवा युनिट कार्यालय मात्र आउने हो । नेपालगञ्जका वाणिज्य संघकै साथीहरुले यो कुरा नबुझेको जस्तो आफूलाई लागेको लागिको र उहाँहरुलाई बुझाउने काम गर्न नसकिएको हो । होइनभने यसमा नेपालगञ्ज वासीले विरोध गर्नु पर्ने कुनै कारण छैन ।’ त्यस्तै लुम्बिनी प्रदेश सांसद सन्जु कुमारी थारुले नेपालगञ्जमा रहेको यातायातको कार्यालय कोहलपुरमा सार्न लागेको होइन, सो कार्यालयबाट सेवाग्राहीले प्राप्त गर्ने सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गरी कोहलपुरमा एउटा युनिट कार्यालय सञ्चालन गर्न लागिएको मात्र हो । यो काम त समग्र बाँकेको हितमा छ । यसको विरोध फेरि किन गर्नु पर्यो र ?। हाल नेपालगन्जमा यातायात कार्यालय रहेपनि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा कोहलपुरमा हुँदै आएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेका निजी सचिव शाखा अधिकृत प्रदीप खनालले नयाँ सवारी अनुमतिपत्रका लागि ट्रायल हुँदै आएको कोहलपुरमा सहजताका लागि बायोमेट्रिक र लिखितको काम समेत हुने गरी सेवा कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिएका छन् । यातायात कार्यालय स्थानान्तरणको विषयमा नेपालगन्ज र कोहलपुरवासी विभाजित हुनु पर्ने कुनै कारण नै नभएको खनालले जानकारी गराए ।