कोहलपुर नगरपालिकाले यही कार्तिक ४ गते सार्वजनीक सूचना जारी गरी नगरपालिकाको क्षेत्रभित्र कसैले पनि प्लाष्टिकजन्य मालाहरुको उत्पादन तथा बिक्रीवितरण नगर्नु÷नगराउनु भनेको थियो । यस्तो सूचना नगरपालिकाले यस पटक मात्र होइन, सधै नै तिहार नजिक आउँदा प्रकासित गरेकै हुन्छ । यो स्थानीय सरकारले जनस्वास्थ्य प्रति आफ्नो औपचारिकता मात्र पुरा गर्ने बाहेक अरु केही होइन । प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामाग्रीहरुले वातावरण प्रदुषण गराउनुका साथै मानवीय स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकाले यस्को उत्पादन, भण्डारण तथा बिक्रीवितरणमा रोक लगाउने नगरपालिकाले निर्णय गरेको थियो । तर स्थानीय सरकारको बजार अनुगमन फितलो हुँदा उसको सो निर्णयलाई कोहलपुर बजार क्षेत्रका कतिपय ब्यापारीहरुले नै धोती लगाई दिएका छन् । स्थानीय सरकारको सो निर्णय विपरीत बजारमा प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाहरु खुलेआम पसलमा छ्यापछ्याप्ती देख्न पाइन्छ । कोहलपुर बजारको साझा चोक, धिताल पेटूोलपम्पको पूर्व साइडको बजार लाइनका कयौ पसलहरु, एनटिभि चोकनिरका पसलहरु लगायतका स्थानहरुमा खुलेआम प्लाष्टिकजन्य फूलमालाहरु प्रसस्तै झुन्ड्याइएको पाइन्छ । बजार क्षेत्रमा समेत स्थानीय सरकारले अनुगमन गरेर आफ्नो निर्णय कार्यान्वयन गराउन सकेको छैन भने अन्य गाउँघरतिर कसैको नजर नपुग्ने स्थानहरुमा झन के हालत होला । कोहलपुर साझाचोकका एक व्यवसायीले आफ्नो नाम नछाप्ने शर्तमा भने, ‘ सर मैले पोहोर साल देखि नै यो प्लाष्टिकका फूलहरु नबेच्नु भनेको छु मान्दैनन् । आफ्नो पसलको बगलमा पसल भरी प्लाष्टिकका लामा झुण्ड्याएको देखेर मलाई पनि राम्रो लागेको छैन ।’ उनले थपे, ‘स्थानीय सरकारले निर्णय मात्र गरेर हुँदैन । कडाईका साथ बजार अनुगमन गर्नु पर्छ र प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाहरु जहाँ जहाँ छन् सबै जफत गरेर नष्ट गर्नु पर्दछ । यसो गर्न सके मात्र स्थानीय सरकारको निर्णय कार्यान्वयन होला ।’