आज कोहलपुरमा हुम्ली एकता समाज बाँकेको शुभकामना आदानप्रदान हुँदै

  • नमस्ते कर्णाली

  • “सामुहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीहरुको एकता र साँस्कृतिक संरक्षणको सुनिश्चितता” भन्ने नारा सहित आज(शनिबार) हुम्ला जन्मथलो भई विभिन्न पेशा, व्यवसाय, जागिर गर्दै बाँकेमा बसेका तथा बसाइसराई गरी बाँकेमा आएका हुम्लीहरुको बृहत् भेला कोहलपुरमा रहेको मिनी ट्रिटप रेस्टुरेण्टमा आयोजना गरिएको छ । २०८१ सालको शुभदीपावली, छठ तथा नेपालसम्बत ११४४ को अवसरमा शुभकामना आदानप्रदान तथा हुम्ली एकता समाज गठन गर्ने सम्बन्धमा ब्यापक छलफल गरिने कार्याक्रम समेत रहेको हुम्ला घर भई करिब १५ वर्ष देखि कोहलपुरमा पत्रकारिता गर्दै आएका नमस्ते कर्णाली दैनिकका प्रकाशक अशोक भण्डारीले जानकारी गराएका छन् । विगत लामो समय देखि कर्णाली प्रदेशका अधिकांश मानिसहरुको विभिन्न पेशा, व्यवसायी गरेर बाँकेका विभिन्न स्थानमा बसिरहेका, जागिर वा अन्य पेशामा रहेर बाँकेलाई कर्मथलो बनाइ बसेका, जन्म थलो हुम्ला भएका तर बसाइसराई गरी बाँके आएका तथा हुम्लामा पनि घर रहेका र बाँकेमा पनि घर बनाई बसिरहेका सम्पूर्ण हुम्लीहरुको बिच बन्धुत्व र एकता कायम राख्दै मानव सेवामा सहयोग गर्ने उद्देश्यले हुम्ली एकता समाज गठन गर्न लागेको आयोजकले जानकारी गराएका हुन । ७ वटा स्थानीय तह रहेको हुम्ला जिल्लाका प्राय सबै स्थानीय तहहरुबाट नै मानिसहरु कुनै न कुनै कामका लागि बाँके आएर बसेका छन् । अहिले पनि कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु नेपालको र्दुगम हिमाली जिल्लाहरुमै पर्दछन् । त्यहाँका सबै नागरिकहरु बिरामी हुँदा भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा लिन पनि बाँकेकै विभिन्न अस्पतालहरुमा आउनु पर्ने बाध्यता छदैछ । उपचारकै लागि पनि हुम्लाबाट बाँके आउदा उनीहरुलाई आइपर्ने विभिन्न समस्याहरुमा सहयोगी भूमिका निर्वाह गर्न पनि हुम्लीहरुको एकता हुनु आवश्यकता महशुस गरिएको हुम्लाको ताजाकोटबाट बाँकेको नेपालगञ्जमा आई व्यवसाय गरिरहेका चक्र मल्लले बताए । त्यस्तै हुम्लाको अदानचुलीबाट बाँकेको कोहलपुरमा आई स्वास्थ्य सेवाका नोकरी गरिरहेका अमरसिंह महतारा भने, ‘ हाम्रो हुम्लाबाट अधिकांश विरामी भएर आउनेहरु हुन्छन् । उनीहरु सँग औषधी उपचार गर्न आर्थिक समस्या पनि हुन्छ । अर्थात अभावका कारण समयमा औषधी उपचार गर्न नपाउने अवस्थामा त्यस्ता व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न पनि हुम्लीहरुको एकता, बन्धुत्व र आपसी सहयोग आदानप्रदान आवश्यक छ । त्यसका लागि पनि हुम्लीहरुलाई संगठित गर्न आवश्यक छ’। आज(शनिबार) हुने हुम्लीहरुको भेलामा पहिलो चरणमा शुभकामना आदानप्रदानकार्यक्रम हुने छ भने दोश्रो चरणमा हुम्ली एकता समाजको गठनको बारेमा सामान्य अवधारणा प्रस्तुत गरिने छ । तत्पश्चात सो अवधारणा माथि छलफल गरी हुम्ली एकता समाजको तदर्थसमिति गठन गरिने कार्यक्रम रहेको अशोक भण्डारीले बताए । हुम्ली एकता समाज गठन गरेर यसले हुम्लाबाट बाँके आएका हुम्लीहरुलाई पर्ने विभिन्न समस्याहरुमा सहयोग गर्ने छ । जस्तैः बिरामी भई आएका हुम्लीहरुलाई आवश्यक पर्ने रगतको व्यवस्थापन गर्ने, हुम्लाको स्थानीय लोकसांस्कृतिको बाँकेमा पनि प्रचार प्रसार गर्दै नयाँ पुस्तामा यसको संरक्षण गराउने, हुम्लामा हुने प्राकृतिक र जैविक विविधता र त्यसको महत्व बारे पहिचान गराउने तथा बजारीकरणको व्यवस्था समेत गर्ने गराउने विषयमा यो हुम्ली एकता समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आज(शनिबार) हुन लागेको भेलाबाट हुम्लीहरुमा एकता र बन्धुत्व कायम छ भन्ने सन्देश समेत प्रवाह हुने महताराले बताए ।

  • १० कार्तिक २०८१, शनिबार ०९:४३ प्रकाशित

  • Nabintech