भेरी कोरिडोरको निर्माण तथा स्तरोउन्नती अविलम्ब हुन जरुरी : नेता बोगटी

  • नमस्ते कर्णाली

  • नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीले भेरी करिडोरको निर्माण तथा स्तरोउन्नती सरकारले अविलम्व गर्नुपर्ने बताएका छन्। केही दिन अघि भेरी करिडोरको यात्रा गरेका नेता बोगटीले सुर्खेतको छिन्चुदेखि डोल्पासम्म बीच पर्ने खोलाहरुमा सडक यथाशीघ्र बनाउनु पर्ने बताए।

    ‘एमाले डोल्पा जिल्ला संगठन कमिटीको बैठक सम्पन्न गरेर यही असोज १९ गते डोल्पा जिल्ला सदरमुकाम दुनैदेखि सडक मार्ग (भेरी कोरिडोर) भएर सुर्खेत पुगेर यहाँ पुग्न करिब १५ घण्टाको समय लाग्यो। धेरै ठउँमा बाटो अप्ठ्यारो भएकाले भेरी कोरिडोरको निर्माण तथा स्तरोन्नतीको कार्य सरकारको तर्फबाट अविलम्ब हुन जरुरी देखिन्छ।’ नेता बोगटीले भने।

    सुर्खेत जिल्लाको छिन्चुदेखि जाजरकोट र केही खण्डमा रुकुमपश्चिमहुँदै डोल्पा जिल्लाको उत्तरी सिमानामा रहेको डोल्पोबुद्ध गाउँपालिकाको अन्तिम सिमानाको धो–मोरिमसम्म जोड्ने भेरी कोरिडोरले चीनको स्वशासित क्षेत्र तिब्बतलाई समेत जोड्छ।

    यस्तै, नेता बोगटीले बहुआयामिक महत्व बोकेको सडक मार्ग भेरी करिडोर भएकाले तत्काल गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गरपछि कर्णालीबासीको लागि मात्र नभएर देशकै लागि जीवन रेखा (लाइफ लाइन) को काम गर्नसक्ने स्पष्ट रहेको दाबी गरे।

    बोगटीका अनुसार डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सास्कृतिक सम्पदाको अवलोकन, अध्ययन तथा अनुसन्धान गर्नका लागि यही सडक भएर आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन दिनप्रतिदिन बढीरहेका छन्।

    यस्तै, भेरी करिडोर सडकको आजसम्मको अवस्थामा जाजरकोट जिल्ला अन्तरगतको सडक खण्डको चौखा खोला र पाताघाट खोला, रुकुमपश्चिम जिल्लाको दामाचौर सडक खण्डको खहरे खोला र उसुमखोला र डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका सडक खण्डको छलगाड र चुगाड खोलामा अहिलेसम्म पुल निर्माण नुहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको उनले बताए।

    नेता बोगटीले भने, ‘यी स्थानमा हिउँद सिजनमा जेनतेन गाडी पारगरिरहेका भएपनि बर्षायाममा गाडीपार हुन नसकेर यात्रुहरुले र गाडीवालाले सास्ती भोग्नु परिरहेको अवस्था छ। केही पुलको ठेक्का टेण्डर भएको लामो समय भैसक्दा पनि ठेकेदारबाट समयमा काम भैरहेको छैन। ठाउँ ठाउँमा सडक अत्यन्त खच्याङ मच्याङ छ। विशेषगरी त्रिवेणीदेखि तल्लु बगरसम्मको सडक अप्ठ्यारो छ।’

    साथै एमाले नेता बोगटीले अप्ठ्यारो सडक खण्डमा विस्तार एवम् मर्मत सुधार गराउन, ठेकेदारबाट छिटो काम गराउन र तत्कालको लागि उक्त खोलाहरुमा बेलिब्रीज तथा ट्रसब्रीज जडानको व्यावस्था अविलम्ब गर्न गराउन भौतिक पुर्वाधार तथा यातायात व्यावस्था मन्त्रालय र अन्य सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    dinvari.com

  • २१ आश्विन २०८१, सोमबार १७:३४ प्रकाशित

  • Nabintech