हिउँबारे कर्णाली क्षेत्रमा प्रचलित एउटा भनाइ छ,‘पुषको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैत्रको हिउँ भागबिला ।’
यो भनाइको अर्थसहित व्याख्या गरियो भने हिउँको महत्व कति छ भन्ने कुरा थाहा हुन्छ । पुषको हिउँलाई शिला भनिन्छ । ‘शिला’ भनेको पत्थर हो । पुषमा परेको हिउँ पत्थर जस्तो हुन्छ । माघको हिउँ बिला । ‘बिला’ भनेको बिलाउनु हो । माघको छिटो बिलाउँछ । फागुनमा पर्ने हिउँलाई ‘टिलाफिला’ भनिन्छ । कारण फागुनमा पर्ने हिउँ उस्तो जम्दैन । जमिन तातिसक्ने हुनाले पर्दा नपर्दै बिउलाउन लाग्छ । अर्थात् परको हिउँ हुन्छ । जमिन छुने बित्तिकै बिलाउन थाल्छ । चैतको हिउँला ‘भागबिला’ भनिन्छ । भागबिला भनेको भाग लगाउने हो । हिउँ भाग लागाउने ? पुस,माघ,फागुन र चैत महिनालाई हिउँसँग जोडिएका कुरा सत्य हुन्,जुम्लाका संस्कृति सम्बन्धका जानकार तुङ्गनाथ उपाध्याय भन्छन् । उनका अनुसार कर्णाली र हिउँको विगत इतिहासँगपनि जोडिएको छ ।
‘हिउँ आयो माघ,बुढाबुढी भाग’
प्रस्तुत भनाइले बुढाबुढीलाई भाग भनेको छ । माघमा हिउँ पर्दा अत्यधिक चिसो हुन्छ । चिसोमा बुढाबुढीलाई कठिन हुने हुँदा या त न्यानो गर, नभए बुढाबुढी तराई झर भन्न खोजेको हो । बिहीबार कर्णालीमा पहिलो पल्ट हिउँ परेको छ । हिउँ परेसँगै जीवन कष्टकर बनेको छ ।कष्टकर जीवन जिउनुपर्ने भएको हुँदा बुढाबुढीलाई बचाउन भाग भनिएको इतिहासका जानकार उपाध्यायले बताले बताए । उनले माघमा परेको हिउँलाई बिलासमेत बताए । अर्थात माघमा परेको हिउँ छिटो बिलाउँछ । यी चार महिना कर्णालीमा अध्यधिक चिसो हुन्छ । यहाँको जनजीवन कष्टकर समेत हुने गरेको छ । पछिल्लो समय कर्णाली क्षेत्रमा हिउँ कम पर्न थालेको प्रति चिन्तित छन्, उनी । भन्छन्,‘विगतमा असोज मै हिउँ पर्थ्यो । पुस १५ मा अनिबार्य हुनु पर्थ्यो । तर अहिले माघमा हिउँ परेको छ । त्यो पनि थोरै ।’ आफूहरु सानो हुँदा ७ बुढापाकाहरुले सात फिटसम्म हिउँ पर्ने गरेको सुनाएको उनी बताउँछन् । कर्णालीमा हिउँसँग यहाँको संस्कृति,कला,विगतसमेत जोडिएको छ ।
हिउँ पर्दा किसानलाई राहत
ढिलोगरी हिँउँ पर्दा कर्णालीका किसानलाई राहत भएको छ । खासगरी कृषि कर्म गरेर जिविकोपार्जन गर्ने किसानहरुलाई राहत मिलेको हो ।हिउँ परेसँगै किसानलाई हेी मात्रामा भएपनि राहत मिल्ने जुम्लाको चन्दननाथ –१० का सगुने सार्कीले बताए ।
‘खेतबारीका जौ पँहेलिएका छन्। पानी नभएर साह्रै पिर परेको थियोे,’ उनले भने, ‘अब जौ, गहुँ अलि अलि हुन्छन् कि भन्ने आश लागेको छ ।’
यो वर्ष हिउँदमा हिउँ नपर्दा नदीको पानी अत्यधिक मात्रामा घटेको छ भने खोलानाला सुक्दै गएका छन् । पानीका मुहानमा पानी घटेपछि खानेपानीको समस्या हुने गरेको बोहरागाउँ चुत्ता नाउला दलित बस्ती खानेपानीको चौकिदार इन्द्र सार्कीले बताए । लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहान समेत सुकेको थिए । मुगुको सोरु गाउँपालिकामा भाइरल ज्वरोका कारण चार जनाले ज्यानै गुमाउन पुगे ।
हिउँ पर्दा मुगुका किसानले पनि राहतको स्वास फेरेका छन् । यस्तै हिमपातले हुम्ला सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
हिउँले ढाँकिइन् ‘स्वर्गकी अप्सरा’
मुगुस्थित कर्णाली प्रदेशकै पर्यटकीय स्थल रारा हिउँमय भएको छ । स्वर्गकी अप्सरा उपनामले समेत चिनिने रारा ताल हिउँले ढाँकिएको हो । रारामा बिहीबार बिहान ७ बजेदेखि हिमपात सुरु भएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त बरिष्ट संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारामा एक फिट भन्दा बढी हिउँ परेको छ । रारा पर्यटकको सबैभन्दा धेरै आगमन हुने पर्यटकीय स्थल हो ।
रारासँगै मुगुका उच्च हिमाली क्षेत्र मुर्माटप, चुचेमारा, घुच्ची,ताल्चा,चंखेली,लखु,मुन्दु,लिउडी, बाम घट्टललेक,तलिलेक,सोरूकोट,चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमपात भएपछि जिल्लाको एकमात्र ताल्चा विमानस्थलपनि बन्द गएको छ । हिमपातका कारण हवाइ सेवा अवरुद्ध भएको हो । मुगुमा लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगव्याधि नै फैलिएको थियो । भाइरल इन्फ्युन्जाका कारण चार जनाले ज्यानै गुमाए । दर्जनौको अहिलेपनि उपचार भइरहेको छ । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कृषक लगायत मुगुबासी किसान खुसी भएक छन् ।
बाजुरामा हिउँ प¥यो,
हुम्लामा खाद्य संकट ट¥यो
कर्णालीका जुम्ला,मुगुसहित हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरापनि भारी हिमपात भएको छ । बाजुरा सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा दोस्रो पटक हिमापात भएको हो । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको हो । बर्षा र हिमपात भएपछि वस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन् । त्यहाँ विद्यालयसमेत बन्द रहेका छन् ।
हुम्लामा भने हिमपात सुरु हुनु अगाबै हुम्लाका अन्यसीहरु चिसो छल्न बेसी झुरिसकेका छन् भने नाम्खाको लिमीबासी सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू उत्तरी नाम्खामै रहेका छन् ।हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । यसअघि हिमपात र वर्षा नहुदा खाद्यान्न संकट हुने चिन्ता समेत टरेको छ ।
जलवायु परिवर्तनको असर बढ्दो
पछिल्ला वर्षमा हिउँपात हुने समय फेरिएको छ । फाटफुट रुपमा मंसिर अन्तिम,पुष पहिलो साता हिउँ आउन्थ्यो । तर कर्णालीमा एउटा मान्यता छ,‘पुष बाह्र गते बेलकुनी माईत जाने र १६ गते कोसेली हिउँ ल्याएर फर्किने अर्थात पुष १६ गते अनिवार्य हिउँ पर्ने । कर्णालीमा यो मान्यता अहिले पनि कायम छ । तर हिमपात हुने समय भने पहिले जस्तो एउटै छैन् ।
पहिला सामाजिक मान्यतानुसार मौसमले साथ दिन छोडेको छ । संघीयतापछि डोजरे विकास दुर्त गतिमा बढ्दा वाताबरण मासिएको छ । पानीको स्रोत पनि घट्दै छ । डोजरे विकाससंगै जलवायु परिवर्तनले हिमपात हुने समय फेरिन थाल्यो ।
हिउँ फर्ने समय टाढिएपछि कृषि क्षेत्रमा असर परेको छ । पुषमा परेको हिउँले माटोमा चिस्यान काम गर्ने,स्याउलाई सिचाँई पुग्छ । तर माघको हिउँले त्यति चिस्यान कायम नगर्ने कृषि विज्ञ बताउँछन् । कर्णालीको हिउँदेबाली सप्रिनका लागि पनि समयमै हिउँ पर्न आबश्यक छ । जलवायु परिवर्तनकै कारण हिमपात हुनुपर्ने समयमा नहुने,बेमौसमी वर्षा हुने,बाली भित्रयाउने बेला बाढी आउने असिना पर्ने जस्ता प्रकोपहरु पछिल्ला वर्षमा बढ्दै गएको विज्ञहरु बताउँछन् । जलवायुमैत्री कृषि प्रणाली तथा वाताबरण संरक्षणमा ध्यानदिनु पर्ने उनीहरुको जोड छ ।