चुलोचौको छोडेर पञ्चेबाजा बजाउँछन् बाँकेका महिला

संस्कृति संरक्षणमा स्थानीय सरकारको लगानी


  • नमस्ते कर्णाली

  • बाँके, बाँकेका गाउँमा हिजोआज पुरुष होइन, महिलाले पञ्चेबाजा बजाउँछन् । पञ्चेबाजा बजाउने चलन हराउँदै गएपछि कोहलपुर र राप्तीसोनारीका महिला यसको संरक्षणमा सक्रिय भएका छन् । उत्सव, मेला, पर्व, विवाह, व्रतबन्ध र विशेष अवसरमा पञ्चेबाजा बजाउने भेटिँदैनन् । यो बाजा लोपउन्मुख अवस्थामा पुगेको छ । तर, स्थानीय महिलाले थरीथरी धुन निकालेर स्थानीयको मन जित्दै छन् । लोप हुन लागेको संस्कृति संरक्षणका लागि पञ्चेबाजा बाजा खरिद् गरेर बजाउन सुरु गरिएको लालीगुराँस पञ्चेबाजा समूह कोहलपुर–१ कौशिलानगरकी उपाध्यक्ष रुपकला परियारले बताइन् ।

    ‘धेरै पुरुष त वैदेशिक रोजगारीमा छन् । हाम्रो संस्कृति लोप हुन लाग्यो’, उनले भनिन्, ‘बाजा बजाउने मान्छे पनि भेटिन छाडेपछि महिला सक्रिय भयौ । अहिले समूह नै गठन गरेका छौ । विभिन्न ठाउँमा गएर बजाउँनसमेत थालेका छौ ।’ रुपकलाले बाजा बजाउन सुरु गरेको तीन वर्ष भयो । त्यो भन्दा पहिला उनी चुलोचौकोमा सीमित थिइन् । उनको जिम्मामा सम्पूर्ण घरव्यवहार मिलाउनु थियो । अहिले भने उनको जिम्मेवारीमा संस्कृति संरक्षण परेको छ । उक्त समूहमा १५ जना महिला छन् । उनीहरु सबै दलित समुदायका हुन् । झ्याली बजाउने तिलसरा परियार भन्छिन्,‘आँट गरे के हुँदा रहेनछ र ? हामी सबैले आँट ग¥यौ । अहिले भने निर्धक्क भएर बजाउन सक्छौ । बानी नै परिसक्यो ।’

    पुनम परियार उक्त समूहकी कान्छी सदस्य हुन् । उनी भने दमाहा बजाउँछिन् । उनका अनुसार घर व्यवहारसँगै संस्कृति संरक्षण अभियानमा जोडिन पाउँदा आफू खुसी नै रहेको उनको भनाइ छ । पहिला पहिला गाउँ घरमा मात्रै बजाउने उनीहरु ऋहिले जिल्ला बाहिरसमेत जान थालेका छन् । वडा नम्बर १ की वडा सदस्यसमेत रहेकी सामाजिक अगुवा शिलता परियार समूहमार्फत अहिलेसम्म बाँकेका विभिन्न क्षेत्रसँगै सुर्खेत र भारतको रुपैडियासम्म पुगेको बताउँछिन् । उनीहरु विभिन्न कार्यक्रममा सहभागी भएपछि ठाउँ अनुसार पारिश्रमिक समेत लिने गरेका छन् ।

    संस्कृति संरक्षणसँगै आम्दानीसमेत हुन थालेपछि महिलाहरु यसतर्फ आर्कषित भएका छन् । वडा सदस्य परियारले महिला र पुरुषको पञ्चेबाजा बजाउने भिन्नै समूह रहेको बताइन् । विभिन्न ठाउँमा पुरुष र महिलाका छुट्टै टिम नै जाने गरेको छ । लालीगुराँस पञ्चेबाजा समूहका अध्यक्ष गगने दमाईं पञ्चेबाजाको संरक्षणको लागि संस्थागत रूपमा अघि बढेको बताउँछन् ।


    समूहमा महिलाहरूको बाहुल्य रहेको उनकोे भनाइ छ । समूहको नेतृत्व आफूले गरे पनि बाजा बजाउने काम महिलाहरूले नै गरिरहेको अध्यक्ष दमाईंले बताए । संस्कृति संरक्षणमा महिलाहरू पनि जुट्न सक्छन् भन्ने सन्देश समूहले दिइरहेको अध्यक्ष दमाईंको भनाइ छ । अरू बेला चुलो चौकोमा सीमित हुने महिलाहरू अहिले विभिन्न कार्यक्रम तथा मेलाहरूमा अग्रस्थानमा बाजा बजाउन सक्षम भएका छन् । यस्तै राप्ती सोनारी –९ ढकेरीमा क्षेत्री र दलित समुहका महिला सम्मिलित कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समिति नै गठन गरिएको छ । यो समूहमा भने महिला मात्रै रहेका छन् । उनीहरुले नै समूहको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।
    राप्तीसोनारीमा । यस्तै,कौशिलानगरमा लालीगुराँस पञ्चेबाजा समूहमा दलित समुदायका महिला मात्रै सहभागी छन् । दलित समुदायको सांस्कृतिक बाजाको रूपमा रहेको रहेको पञ्चेबाजा संरक्षणमा कोहलपुर र राप्तीसोनारीका महिलाहरू एकजुट भएका हुन् । यो समूह जिल्ला प्रशासन कार्यालय बाँकेमा १६९९औँ गैरसरकारी संस्थाको रुपमा दर्ता भएको छ ।

    पञ्चेबाजा अर्थात पाँच बाजाहरूको समूह । यो बाजा नेपालको पहाडी भेकमा बजाउने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चेबाजा, नेपाली धार्मिक एंव साँस्कृतिक बाजाको रूपमा प्रयोग हुँदै आएको छ । पञ्चेबाजा मौलिक संस्कृतिको धरोहर हो ।

    यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा–आजा लगायतका शुभ कार्यमा यो बाजाको बढी प्रयोग हुन्छ । मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । परम्परागत रूपमा नेपालका दमाईं समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरूमा महिलाहरूले पनि व्यावसायिक रूपमा बजाउन थालेका छन् ।

    संस्कृति संरक्षणमा स्थानीय सरकारको लगानी
    कोहलपुर नगरपालिका वडा नम्बर १ र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकरीमा स्थानीय समुदाय र स्थानीय सरकारको सहकार्य र सहयोगमा समूह स्थापना गरिएका छन् । यी समूह स्थापनाका साथै सीप सिकाउने र बजारीकरणका लागि स्थानीय सरकारहरुको भूमिका महत्वपूर्ण रहेको छ । लालीगुराँस पञ्चेबाजा समूहका अध्यक्ष दमाईं कोहलपुर नगरपालिका र वडा नम्बर १ को कार्यालयले आफूहरुलाई आर्थिक सहयोग गरेको बताउँछन् ।

    बाजा किन्ने र सीप सिक्नको लागि स्थानीय सरकारको आर्थिक सहयोग रहेको समूहले जनाएको छ । यस्तै राप्ती सोनारीमा रहेको पञ्चेबाजा संरक्षण समितिका सदस्यहरुलाई सीपयुक्त बनाउनको लागि वडा नम्बर ९ को कार्यालयले आर्थिक सहयोग गरेको समितिले जनाएको छ । कला संस्कृति तथा पन्चेबाजा संरक्षण समितिको व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले पनि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी (नमुना) को सहयोगमा समितिको स्तरोन्नति तथा विकासका लागि पाँच लाख रुपैयाँ विनियोजित गरिएको थियो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य संस्कृति संरक्षण स्थानीय सरकार प्राथमिकता रहेको बताउँछन् ।

     

  • ८ पुष २०८०, आईतवार ११:४१ प्रकाशित

  • Nabintech