सुर्खेतमा अचेल ‘सडक गाई’ देखिँदैनन्। त्यहाँका गाई हुम्ला पठाइएको समाचार सुनिएको थियो। ७६ भदौमा नेपालगञ्जदेखि सुर्खेत हुँदै दैलेख लैजाने क्रममा कटकुवामा थुप्रै गाई भीरबाट खसालेर मारिएका थिए। पछि अदालतमा मुद्दा चल्यो। मुद्दा कसले जित्यो वा हार्यो, त्यो बेग्लै कुरा हो।
तर हामीले अदानचुलीको चंखेल्ना भीरबाट दुइटा गाई लडेर मरेको देखेका थियौं। पछि बुझ्दा थाहा भयो, ती गाई चट्याङ लागेर लडेका रहेछन्। अग्लो भीरबाट खसेर निर्माणाधीन सडकको चुच्चे ढुंगामा ती बेस्सरी बजारिएका थिए। त्यो देखेर हामीलाई नरमाइलो भयो।
हामीले हुम्लामा गाई खोज्नुको मुख्य कारण भने गोरस खान नपाएको झोंक थियो। वीरेन्द्रनगर नगरपालिकाको सहजीकरणमा हुम्ला पठाइएका ती गाईबारे टिकाराम सरले पनि उत्तिकै चासो राखेका थिए। यो यात्रामा मैले चिनेका उनी वास्तवमै प्रतिबद्ध प्रमुख प्रशासकीय अधिकृत थिए। तन त्यहाँ भए पनि मन अफिसकै काममा गइरहन्थ्यो।
हामीले नौमुठे गाईबारे पनि सुनेका थियौं। सानो र दूधालु। पश्चिम पहाडमा पाइने। हिमाली क्षेत्र पशुपालनका लागि उत्तम भनेर पनि पढेकै हो। तर हामीले सलीसल्लाबाहेक कहीँ गोरस खान पाएनौं। गाई त कतै कतै देखिएका थिए। तर खान नपाएका ख्याउटे। सुख्खा सिजन भएकाले दूध-दही अभाव भएको रहेछ। वस्तुभाउको प्राणमात्रै जोगाएर राख्ने समय।
दूध-दही नपाए पनि आँटो पिठो खाऊँ भन्ने थियो। पाहुनालाई दिन लाज मानेर हो वा खाँदैनन् भन्ठानेर–हामीलाई कसैले पनि त्यस्तो खान दिएनन्।
नास्ता के होला? भनेर सोध्दा उत्तर हुन्थ्यो– अन्डा चाउचाउ।
अन्डा कहाँको हो? तलैबाट ल्याएको। चाउचाउ त झन् त्यहाँको हुँदै होइन।
गत फागुनमा सुर्खेतमा आयोजित कर्णाली उत्सवमा एउटा सत्र थियो ‘प्रांगारिक प्रयास’। त्यसमा कर्णालीलाई कसरी प्रांगारिक कायम राख्न सकिन्छ भन्ने विषयकेन्द्रित बहस भयो। वक्ताहरूले रैथाने उत्पादनमा जोड दिनुपर्ने बताए। यस्ता उत्पादनमा ‘भ्यालु एड’ गरेर बजारीकरण गर्नुपर्ने कुरा गरे। प्रांगारिक उपादनलाई ब्रान्डिङ गरेर संसारभर बेच्न सकिने भन्दै प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको छ। त्यसै अनुसार नीति र कानुन बनेका छन्।
कर्णालीमा खाद्यान्न अभावको खबर पनि बारम्बार सुनेकै हो। ‘कर्णालीमा सबैखाले सम्भावना छन्’ भन्ने पनि नसुनेको होइन। त्यसोभए कर्णाली भएर पनि केही नभएजस्तो किन देखिन्छ? कर्णालीको विकास कसरी सम्भव छ?
यस्ता यावत् प्रश्नको उत्तर खोज्न ‘केही त गरौं’ भनेर म जोडिएको ऋति फाउन्डेसनले हरेक वर्ष सुर्खेतमा कर्णाली उत्सव गर्छ। उत्सवले ‘कर्णाली कमजोर होइन’ भन्ने प्रमाणित गर्न खोज्छ। कर्णालीलाई समृद्ध बनाउन पहल गर्छ।
यता कर्णाली भने विस्तारै अल्छी हुन थालेछ। मोटर चल्न थालेपछि स्थानीय उत्पादन प्राथमिकतामा पर्न छोडेछ। खेतीपाती छोडेपछि मानिस कामविहीन बनेछन्। बेकामी बन्दा खर्च चलाउनै मुस्किल हुन थालेछ। अनि कालापहाड (भारत) जानुको विकल्प रहेनछ। हामीले हुम्लामा यो पनि देख्यौं।
शासकले गहिरिएर सोच्ने कुरा पनि यही हो जस्तो लाग्छ। दुर्गममा सुविधासँगै अवसर कसरी लैजाने भन्ने कुरा महत्वपूर्ण हुन्छ। कसरी स्थानीय स्रोतसाधन पहिचान र परिचालन गर्ने भन्नेबारे खोजी गरिनुपर्छ। नत्र हामी अर्गानिक कर्णालीमा अन्डा चाउचाउकै भर पर्नुपर्छ। भएर पनि केही नभएजस्तो हुनुपर्छ।
फर्किँदा बाजुराको कोल्टी विमानस्थलमा जानुकाजीसँग भेट भयो। उनले हामीलाई एक-एक मुठ्ठी भुटेको लट्टे दिइन्। भोक लागेकाले मिठो भयो। उनले मदनाबाटै हरियो तरकारी र ओखरको तेल पनि ल्याएकी रहिछन्। त्यो देख्दा हामीले ‘रियल हुम्ला मिस गरेछौं’ भन्ने भयो। जसै उनले बजारको पोका तेलसँग कोलमा पेलेको ओखरको तेल साटेको सुनाइन्, हरिवंश आचार्यको गीत याद आयो–हाम्री आमा साह्रै नै बाठी छन्, चामलसित पिठो पो साटिछन्!
हाम्रो अन्तिम कार्यक्रम ताँजाकोटमा थियो। त्यसपछि कामको चाप थिएन। काम सकिनै लाग्दा हलुका महशुस भएको थियो। कतिबेला घर पुगिन्छ अनि आनन्द हुन्छ जस्तो लागेको थियो।
अभिमुखीकरण कार्यक्रम सकिँदा नसकिँदै प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले टिकाराम सरसँग एउटा अनुरोध गरे।
गाउँपालिकामा धेरै समयदेखि रोजगार संयोजक पद खाली रहेछ। विज्ञापन भएर पनि छनौट हुन बाँकी। होस् पनि कसरी? छनौट समितिको संयोजक निजामति सेवाको वहालवाला वा सेवानिवृत्त उपसचिव हुनुपर्ने कानुनी व्यवस्था छ। ‘हामी ताँजाकोट आउँदैछौं’ भन्ने खबर पाउनासाथ कार्यपालिका बैठकले टिकाराम सरलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिसकेको रहेछ।
गाउँपालिकामा उपसचिव नपुगेकै धेरै भयो रे। हुन त मदनाका दशरथ बुढा पनि नेपाल सरकारका उपसचिव हुन्। हाल उनी बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन्। घर आएका बेला मौका छोपे मात्रै नत्र त्यही कामका लागि मात्र कसलाई बोलाउनु? आउनेलाई पनि समय मिल्नुपर्यो। अनि हुम्ला आउन मान्नुपर्यो। त्यसमा पनि ताँजाकोट आउनुपर्यो।
ताँजाकोटकै दानबहादुर ऐडी निजामति सेवामा शाखा अधिकृत छन्। गल्लावाडाका अर्का एकजनाले भर्खरै अधिकृतमा नाम निकालेका रहेछन्। हामी त्यहाँ पुग्नुभन्दा अघिल्लो दिन उनले खसी काटेर भव्य पार्टी दिएका थिए रे। सिंगो गाउँपालिकामै खुसीयाली छाएको थियो।
टिकाराम सरले हुन्छ भने। ताँजाकोटमा तीन दिन रहँदा लिजाको अभिमुखीकरण पनि भयो। रोजगार संयोजक छनौट पनि भयो। त्यसका लागि त्यहाँ पुगेकै दिनदेखि टिकाराम सरले अतिरिक्त काम गरे। छनौट समितिका बैठक, प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनसम्मका सबै काम भए।
गाउँपालिकाका लागि धेरै समयदेखि थाँती रहेको काम सम्पन्न भयो। नाम निकाल्नेलाई जागिर भयो। वैशाख १२ गते बिहान नौ बजेतिर नतिजा टाँस गरेर हामीले कोल्टीको यात्रा प्रारम्भ गर्यौं। अध्यक्ष बाग्दल मल्लले खुसीसाथ हामीलाई गाउँपालिकाको गाडीमा पठाए।
ताँजाकोटबाट कोल्टी विस्तारै जाँदा पनि तीन घण्टामा पुगिन्थ्यो। बाटो नराम्रो थिएन। कोल्टी जाने भन्दै शिवजी पनि हामीसँगै आए। उनको ससुराली त्यहीँ रहेछ। पहिले त नेपालगञ्जसम्म जान्छु भन्दै थिए। कोरोना महामारीका कारण भोलिपल्टदेखि नेपालगञ्जमा निषेधाज्ञा जारी हुने भएकाले नजाने भए।
हामी जसै ताँजाकोट छोड्यौं, टिकाराम सरको फोनमा तारान्तार घण्टी बज्न थाल्यो। रोजगार संयोजक छनौटको विषयलाई लिएर अनेक कुरा भए। कसैले ‘किन सूचना नदिएको’ भने। कसैले ‘किन फलानोको नाम निकालेको’ भने। टिकाराम सरले सबैलाई सरासर जवाफ दिए। बाँकी कुरा गाउँपालिकामा सोध्नु भने।
परीक्षार्थी सबै स्थानीय भएकाले परीक्षासम्बन्धी सूचना निवेदकको घरमै पुगेर दिइएको थियो। सफल हुने उम्मेदवारले यसअघि नेपाल बैंक लिमिटेडको लिखित परीक्षा पास गरेका रहेछन्। धेरैले ‘पढाइमा राम्रै हो’ भनेको सुनियो। उनले धेरै अंकले अरूलाई उछिनेको टिकाराम सरले सुनाए। छनौटको आधार लिखित परीक्षा मात्र थियो। त्यो पनि वस्तुगत प्रश्नोत्तर। फोनको कुराकानी सुनिरहेका शिवजीले पनि ‘अब्बलले जागिर पायो त के अनौठो भयो’ भने।
छनौट परीक्षामा त्यस्तो कुनै ‘तलमाथि’ भएको जस्तो मलाई पनि लागेको थिएन। संयोजकले न कुनै उम्मेदवार चिनेका थिए। न कसैसँग उनको कुनै स्वार्थ मिल्थ्यो। परीक्षाको अघिल्लो दिन प्रश्नपत्र शिलबन्दी गरेर बन्द गरेको दराजको चाबी उनी आफैंले बोकेका थिए।
त्यस रात हामी प्रमुख प्रशासकीय अधिकृतको कोठामा भुइँमै ओच्छ्यान लगाएर सुतेका थियौं। हिजोको धूले होटलको तुलनामा त्यो हामीलाई ‘तीनतारे’ थियो। टिकाराम सरसँगै भएकाले छनौट परीक्षालाई मैले पनि राम्रैसँग नियालेको थिएँ। छनौट समितिका तीनैजना ढकाल भएपछि मैले हाँसो गरेर भनेको थिएँ– यदि कुनै ढकाल नै पास भयो भने नि? संयोगवस ढकाल थरका एक जना दुई नम्बर वैकल्पिक परे।
हामी कुवाडी खोला तरेर बाजुराको हिमाली गाउँपालिका हुँदै अघि बढ्यौं। कर्णालीको किनारै किनार दाहिनेबाट हामी दक्षिण लागेका थियौं। कर्णाली करिडोरको केही खण्ड बाजुरामा पर्दो रहेछ। तिथिचौरमा रहेको नेपाली सेनाको पोष्टमा ‘इन्ट्री’ गरेर अघि बढ्यौं।
फेरि टिकाराम सरको फोन आयो। सुरूमा त कुराकानी राम्रै सुनिएको थियो। उताबाट ‘अहिले कहाँ पुगिस्?’ भनेपछि टिकाराम सर तात्तिए। भने– ‘म जहाँ पुगे पनि के भयो? मैले रोजगार संयोजक छनौट समितिको संयोजकका नाताले जे गरेको छु, ठीक गरेको छु। सबै काम कानुनसम्मत् गरेको छु। के गर्ने हो गर्। तर मलाई पटक पटक फोन नगर्।’
बिहानदेखि केही खाइएको थिएन। धुलाचौरमा खाजा खाने सल्लाह थियो। कसैले फेरि फोन गरेर ‘पख् कोल्टी त पुग्लास्’ भनेपछि केही खान मन लागेन। कस्तो कस्तो भयो। अनि पानी खायौं। धुलाचौर काटेपछि बुढीनन्दा नगरपालिका लाग्यो। केहीबेरमा कोल्टी पुगियो।
हामीले घर छाडेको दस दिन भएको थियो। कोल्टीबाट नेपालगञ्ज नियमित उडान हुन्थ्यो। सिता एयरले कहिलेकाहीँ कोल्टीबाट सुर्खेत उडाउँथ्यो। टिकाराम सरका एकजना इञ्जिनियर साथीले सिता एयरका मालिकलाई चिनेका रहेछन्। उनले सिधा सुर्खेत उडाउन आग्रह गरेका थिए। सुर्खेत झर्न पाए हामीलाई पनि सजिलो हुन्थ्यो। नेपालगञ्ज पुगेर फर्कन पनि उल्टो हुन्छ। नेपालगञ्जमा फेरि कोरोना प्रकोप बढेको थियो।
सिधै सुर्खेत जान पाए पनि हुन्थ्यो जस्तो लागेको थियो। सुर्खेत जाने पाँच जना थियौं। हामी दुई जना, हिमालयन पर्माकल्चर केन्द्र गुमीका तीन जना। उनीहरू हुम्लाको मदनामा खेतीपाती, महिला नेतृत्व, जनस्वास्थ्य लगायतका विषयमा तालिम सञ्चालन गर्न गएका रहेछन्। विमानस्थलमै हाम्रो भेट भएको थियो।
यात्रु कम भएपछि सिता एयर नेपालगञ्जबाटै नउड्ने भयो रे। हामीले तुरुन्तै तारा एयरको टिकट काट्यौं। कोल्टीदेखि नेपालगञ्जसम्म। नेपालगञ्जदेखि ताल्चासम्म पनि हामी तारामै गएका थियौं।
कोल्टी पुग्दा ११ बजिसकेको थियो। केहीबेरमै जहाज आउनेवाला थियो। हामी सरासर विमानस्थलभित्र गयौं। झोला जाँचीवरी ठेलामा पठाइयो। शौचालय गएर फर्किँदा म अलि अघि थिएँ।
बाटैमा कसैले सोध्यो, ‘टिकाराम सर हो?’
हेर्दै खाइलाग्दो ज्यान। कतै अघि फोन गर्नेमध्येका त होइनन्? मुटु चिसो भयो। लौ के आपत आइलाग्यो भन्ने ठानेँ। केहीबेर अकमकाएँ। हो, होइन, केही भन्न सकिनँ।
पछि थाहा भयो–उनी सिता एयरका एजेन्ट रहेछन्। हामीलाई सुर्खेत उडाउन नसकेकोमा दुःखमनाउ गरेर फर्किए। हामी जहाज चढ्ने ठाउँतर्फ गयौं।
हामीलाई बोकेको तारा एयर कर्णाली किनारै किनार दक्षिण लाग्यो। कालीकोटको खोंचमा जहाजलाई हावाले बेस्सरी हल्लाएपछि छेवैमा बसेकी एयर हेस्टेसलाई हेरेँ। उनी खिस्स हाँसेपछि ‘व्यर्थै डराएछु’ जस्तो लाग्यो।
बाजुराबाट हामी कालिकोट, दैलेख र सुर्खेतको आकाश हुँदै नेपालगञ्ज आइपुग्यौं। त्यहाँबाट गाडीमा सुर्खेत। बिहानदेखि केही नखाएका हामीले बबईमा दुई बजे ‘दिउँसोको खाना’ खायौं। त्यसपछि पेटले पनि शान्ति पायो।
सेताेपाटी बाट